CLI

पुँजी बजार चलायमान भएमात्र श्रम शक्ति व्यवस्थित गर्न सकिन्छ : उद्योगमन्त्री  भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले राष्ट्रिय उत्पादनको १३ प्रतिशत हिस्सा ओगटेको कृषिमा आधारित अर्थतन्त्रको उत्पादकत्व ५ प्रतिशतमा घटेको बताएका छन्।

सोमवार काठमाडौँमा आयोजित श्रम तथा रोजगार सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले पुँजी बजार चलायमान नभएसम्म श्रम शक्ति व्यवस्थित हुन नसक्ने पनि बताए। छिमेकी मुलुकले लगानी गरेका जुट मिललगायत संस्थाहरु धराशायी हुनुको कारण खोज्नुपर्ने उनको भनाइ छ।

‘जबसम्म नेपालको पूँजी बजार चलायमान हुँदैन तबसम्म नेपालको श्रम शक्ति व्यवस्थित गर्न सकिँदैन। यसैले नेपालको पुँजी बजारमा निजी क्षेत्रको आज जति उपस्थिति छ‚ त्यो उद्योगसँग व्यापारसँग ड्रेडसँग जोडिएका सन्दर्भहरु छन्‚’ उनले भने, ‘हाम्रो व्यापार बढाउन सकेनौँ भने उत्पादकत्व वृद्धि हुन सक्दैन। कृषिमा आधारित अर्थतन्त्र नेपालमा उद्योगको जिडिपीमा हिजो १३ प्रतिशतको योगदान थियो भने आज घटेर ५ प्रतिशतमा आएको छ।’

उनले उद्योगमा लगानी गर्न कठिन र जोखिम भएको भन्दै हिजोका दिनमा नेपालको ब्राण्डको रुपमा स्थापित पश्मिना, गार्मेन्ट, गलैँचालगायत उद्योगहरु बन्द भएको बताए।

‘उद्योग सञ्चालन गर्न कठिन र जोखिम छ। त्यही जोखिमले हिजो नेपालको ब्राण्डको रुपमा स्थापित पश्मिना, गलैँचा तथा गार्मेन्ट, जुट मिललगायतका उद्योगहरु बन्द भए‚’ उनले भने, ‘छिमेकी मुलुकले लगानी गरेको विभिन्न संस्थाहरु धरासायी भए। यस्तो किन भयो त्यसको कारणको खोजी गर्नुपर्नेछ।’

मन्त्री मण्डारीले उद्योग र उद्यमशीलताका बारेमा सरकारले गरेको नीतिगत सुधारले आशा जगाएको बताए। उनले रोजगारी ग्यारेन्टी गर्ने तथा उद्यम र उद्यमशीलतालाई प्रोत्साहन गर्ने खालको विषय आगामी आर्थिक वर्षको बजेटमा समावेश गरिने बताए।

उनले बेरोजगारीका कारण युवामा देखिएको निराशालाई आशामा बदल्ने गरी सरकारले गरेको नीतिगत सुधारलाई निजी क्षेत्रले स्वागत गरेको दावी गरे।

मन्त्री भण्डारीले नेपालको पुँजी बजार, श्रम बजारसँगको नेपालको उत्पादन र नेपालको रोजगारीलाई जोड्नसके आन्तरिक रोजगारीका प्रश्नलाई समाधान गर्न सकिने बताए।

Leave Your Comment

Related News