काठमाडौं । विद्युत नियमन आयोगको सदस्य भागिरथी भट्टराई ज्ञवालीले शपथग्रहण लिएका छन् ।
फागुन २६ गते बसेको मन्त्रीपरिषद्को बैठकले आयोगको सदस्यमा नियुक्ति भट्टराईले उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काको उपस्थितीमा मन्त्रालयमा सपथग्रहण लिएका हुन् । उनलाई विद्युत नियमन आयोगका अध्यक्ष रामप्रसाद धितालले शपथग्रहण गराएका हुन् ।
यसअघि विस २०७६ देखि २०८१ बैशाखसम्म सोही आयोगको सदस्यमा कार्यरत भट्टराईले आज दोस्रो कार्यकालका लागि शपथग्रहण लिएका हुन् । आयोग स्थापनाकालमा सदस्य हुनुभएकी भट्टराईले सोही समयमा विद्युतको उपभोक्ता हक, हित र संरक्षण समितिको संयोजकका रुपमा काम गरेका थिए ।
अर्थशास्त्र र जनप्रशासनमा स्नातकोत्तर ५९ वर्षीय भट्टराई विस २०६९ देखि २०७३ सम्म खानेपानी महसुल निर्धारण आयोगको सदस्य थिए। उनी यसअघि ग्लोबल आईएमई बैंकको स्वतन्त्र सञ्चालक थिए ।
शपथग्रहण समारोहमा बोल्दै उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले ढिलै भएपनि नियमन आयोगले पूर्णता पाएको भन्दै उत्पादन बढ्दै जाँदा नियमनकारी निकायको जिम्मेवारी पनि बढ्दै गएको बताए । “सरकारले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ, उक्त लक्ष्यलाई पुरा गर्न नियमनकारी निकायको जिम्मेवारी अझ बढी छ,”– मन्त्री खड्काले भने ।
उनले प्रसारण लाईन निर्माणमा निजी क्षेत्रलाई ल्याउँदै गर्दा कति शुल्कमा दिने भन्नेबारे आयोगले चाँडो टुङ्ग्याउनुपर्ने समेत बताए । सरकारले लिएको उर्जा विकासको लक्ष्यलाई पुरा गर्न आयोग सारथीका रुपमा उभिनुपर्ने मन्त्री खड्काको भनाई थियो । उनले बढी विद्युत खरीद गर्नेलाई कसरी सहुलियतदरमा विद्युत उपलब्ध गराउन सकिन्छ त्यसबारे समेत आयोगले अध्ययन गर्नुपर्ने उल्लेख गरे ।
उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव सुरेश आचार्यले पछिल्लो समय नियमनकारी निकायको महत्व र भूमिका बढ्दै गएको भन्दै आफ्नो ज्ञान, सीप र क्षमतालाई आयोगमा अधिकतम रुपमा लगाउन आग्रह गरे ।
विद्युत नियमन आयोगका अध्यक्ष रामप्रसाद धितालले सरकारले लिएको उर्जा विकास मार्गचित्रको लक्ष्य पुरा गर्न आयोगले काम गरिरहेको उल्लेख गरे । उनले आयोगले पूर्णता पाएकाले अब टिमवर्कबाट सकारात्मक परिणाम निकाल्नेगरी काम गर्ने बताए ।
कार्यक्रममा सिंचाई सचिव सरीता दवाडी, मन्त्रालयका वरिष्ठ उर्जाविज्ञ प्रबल अधिकारी, विद्युत विकास विभागका महानिर्देशक नवीनराज सिंह र विद्युत नियमन आयोगका सदस्यहरुको सहभागीता रहेको थियो ।