काठमाडौं । नेपालको उद्योग क्षेत्रमा आउने विदेशी लगानी प्रतिबद्धता एक महिनाको अवधिमा ६६ प्रतिशतले बढेको छ । उद्योग विभागका अनुसार चालू आर्थिक वर्षको फागुनमसान्तसम्म विदेशी लगानी प्रतिबद्धतास्वरूप ४४ अर्ब ६६ करोड ३ लाख रुपैयाँ आएको हो । सो प्रतिबद्धता ४२७ वटा उद्योग स्थापना र ११ हजार ४७५ जनालाई रोजगारी दिने उद्देश्यका साथ आएको हो । जुन चालू आर्थिक वर्षको माघ मसान्तसम्म आएको लगानी प्रतिबद्धताको तुलनामा ६६.३८ प्रतिशत अर्थात् १७ अर्ब ८१ करोड ८६ लाख रुपैयाँले बढी हो । चालू आर्थिक वर्षको माघ मसान्तसम्म विदेशी लगानी प्रतिबद्धतास्वरुप २६ अर्ब ८४ करोड १७ लाख रुपैयाँ आएको थियो । सो प्रतिबद्धता ३८६ वटा उद्योग स्थापना र १० हजार ७२६ जनालाई रोजगारी दिने उद्देश्यका साथ आएको हो ।
विभागका अनुसार फागुन मसान्तसम्मको अवधिमा सबैभन्दा बढी लगानी प्रतिबद्धता क्रमशः पर्यटनमूलक, सूचनाप्रविधिमुलुक, सेवामूलक, उत्पादनमूलक, उर्जामूलक कृषिमूलक र पूर्वाधारमूलक उद्योगका लागि आएको छ । पर्यटनमूलकका लागि १७ अर्ब ९० करोड ७५ लाख रुपैयाँ, सेवामूलकका लागि २२ अर्ब ३६ करोड ३७ लाख रुपैयाँ, उत्पादनमूलकका लागि २ अर्ब ६३ करोड २० लाख रुपैयाँ, उर्जामूलकका लागि २ करोड ५५ लाख रुपैयाँ, कृषिमूलकका लागि ७६ करोड १० लाख रुपैयाँ र पूर्वाधारमूलकका लागि २ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको हो । उक्त लगानी प्रतिबद्धता १८० वटा पर्यटनमूलक, ५४ वटा सेवामूलक, ३० वटा उत्पादनमूलक, १ वटा उर्जामूलक, ७ वटा कृषिमूलक र १ वटा पूर्वाधारमूलकका उद्योग स्थापनाका उद्देश्यसहित आएको हो ।
विभागका निर्देशक अर्जुन सेन ओलीका अनुसार लगानीकर्ताहरूले स्वाचालित मार्ग र पुरानो कागजी (साधारण) रूपमा उक्त लगानी प्रतिबद्धता जनाएका हुन् । फागुनमसान्तसम्म स्वचालित मार्गबाट २ अर्ब ७५ करोड ६८ लाख रुपैयाँ र भौतिकरूपमा ४१ अर्ब ९० करोड ३४ लाख रुपैयाँ गरी उक्त लगानी प्रतिबद्धता आएको हो । स्वचालित र भौतिकरूपमा आएका लगानी प्रतिबद्धता सबैभन्दा धेरै साना, मझौला र ठूला उद्योगहरूमा रहेको छ । जसमा साना ४१५ वटा, मझौला ८ वटा र ठूला ४ वटा उद्योगका लागि हुन् ।
त्यस्तै विभागका अनुसार पुसमा मात्रै विदेशी लगानी प्रतिबद्धतास्वरूप १७ अर्ब ७९ करोड ८६ लाख रुपैयाँ आएको छ । उक्त लगानी प्रतिबद्धता ४० वटा उद्योग स्थापना तथा ८३३ जनालाई रोजगारीको उद्देश्यसहित आएको हो । फागुनमा स्वचालित मार्गबाट १२ करोड ८६ लाख रुपैयाँ र भौतिकरुपमा १७ अर्ब ६७ करोड रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको हो । उक्त लगानी प्रतिबद्धता २१ वटा उद्योग स्थापनाको लागि आएको हो ।
निर्देशक ओलीका अनुसार समीक्षा अवधिमा विदेशी लगानीकर्ताहरूले नेपालमा रहेको उद्योगको लागि सेयर खरिद सम्झौता (एसपीए) र साझेदारी सदस्यता सम्झौता (एसएसए) गरेका छन् । लगानीकर्ताहरूले चालू आर्थिक वर्षको फागुन मसान्तसम्म ३२ वटा उद्योगको लागि १ अर्ब ९४ करोड ५० लाख रुपैयाँबराबरको एसपीए र एसएसए गरेका छन् । चालू आर्थिक वर्षको फागुन मसान्तसम्म ४६ वटा र फागुनमा मात्र ४ वटा उद्योगको प्रविधि हस्तान्तरण सम्झौता (टीटीए) गरिएको छ ।
विदेशी लगानीकर्ताले विभागमार्फत भने न्यूनतम २ करोड रुपैयाँदेखि ६ अर्ब रुपैयाँसम्मको लगानी भित्र्याउन सक्नेछन् । ६ अर्ब रुपैयाँभन्दा माथिका लगानी भने लगानी बोर्डमार्फत स्वीकृत गरिन्छ । विदेशी लगानीकर्तालाई प्रत्यक्ष विदेशी लगानी तथा हस्तान्तरण ऐन, २०७५ ले नेपालमा रहेको उद्योग क्षेत्रमा लगानी गर्ने अधिकार प्रदान गरेको छ । विभागमा कृषि तथा वन पैदावरमा आधारित, ऊर्जामूलक, सूचना, प्रसारण तथा सञ्चार प्रविधि, उत्पादनमूलक, सेवामूलक र पर्यटनमूलकलगायतका उद्योग दर्ता हुन्छन् । दर्ताका साथै विदेशी लगानीको हकमा पुँजी समेत तोकिएको छ ।
राष्ट्र बैंकअन्तर्गत प्रत्यक्ष विदेशी लगानी शाखाका अनुसार नेपालमा विदेशी लगानीको लागि न्यूनतम सीमाप्रति विदेशी लगानीकर्ता पाँच करोड रुपैयाँ तोकिएको छ भने अधिकतम सीमा तोकिएको छैन । ‘औद्योगिक व्यवसाय ऐन–०७५’ अनुसार १० करोड रुपैयाँसम्म स्थिर पुँजी भएको साना, १० करोड रुपैयाँदेखि २५ करोड रुपैयाँसम्मको स्थिर पुँजी भएको मझौला र २५ करोड रुपैयाँभन्दा बढी स्थिर पुँजी भएको ठूला विभागले दर्ता गर्छ । विदेशी लगानीकर्ताहरूले लगानी ल्याउने तथा लाभांश लैजानेको लागि विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ ले सहजीकरण गरेको छ । उक्त ऐनअनुरूप विदेशी लगानीकर्ताले नेपालमा लगानी गरे सकेपछि आफ्नो लगानीको सेयर वा उद्योग पूर्ण वा आंशिकरूपमा बिक्री गरी कर चुक्ता गरी आफ्नो लगानी तथा मुनाफा लैजान सक्नेछन् । उनीहरूले लगानी गरेको सोही विदेशी मुद्रा वा अन्य परिवत्र्य विदेशी मुद्रामा कर चुक्ता गरी राष्ट्र बैंकको स्वीकृति लिई लाभांश लैजान सक्नेछन् । लाभांश लैजान भने राष्ट्र बैंकमा लेखाङ्कन गर्नु अनिवार्य छ ।