काठमाडौं । दोलखाको बिगु गाउँपालिका–४, लादुकस्थित सुरीटारमा निर्माणाधीन अपर पाँचौं तामाकोशी जलविद्युत् आयोजनाले स्थानीयवासीहरूमाथि दवाव सिर्जना गर्दै आएको स्थानीयको आरोप छ। आयोजनास्थल वरपरका बासिन्दाहरूले आयोजना पक्षबाट धम्की र डर त्रास दिने कार्य भइरहेको गुनासो गरेका छन्।
बिगु गाउँपालिका–१, लामाबगरस्थित गोंगर बजारका क्रसर पीडित आन्दोलित स्थानीयहरूले बुधबार एक विज्ञप्ति जारी गर्दै आयोजनाले आफूहरूका जायज मागलाई बेवास्ता गर्दै उल्टै विभिन्न शक्तिको प्रयोग गरी थर्काउने प्रयास गरेको जनाएका छन्।
विज्ञप्तिमा भनिएको छ, ‘तामाकोशी पाँचौं आयोजनाले स्थानीयका यथार्थ र न्यायोचित मागहरू सम्बोधन गर्नुको सट्टा क्रसर पीडित स्थानीयहरूलाई धम्की दिने, दबाब सिर्जना गर्ने, र हाम्रो आन्दोलनलाई बदनाम गर्न प्रयत्न गरिरहेको प्रति गम्भीर ध्यानाकर्षण भएको छ।’ उनीहरूका अनुसार आयोजना सञ्चालनमा रहेको क्रसर प्लान्टले वातावरणीय क्षति पुर्याउनुका साथै जनस्वास्थ्यमा पनि प्रतिकूल असर पुर्याइरहेको छ।
स्थानीयहरूका मागहरूमा क्रसरको प्रभावबाट हुने स्वास्थ्य जोखिमको समाधान, निजी घरधुरीमा परेको क्षतिको उचित क्षतिपूर्ति, रोजगारीको सुनिश्चितता, गोंगर बजारको नदी कटानबाट सुरक्षा गर्न तटबन्ध निर्माण, सडक ढलान, र खानेपानी व्यवस्थाजस्ता विषयहरू रहेका छन्।
गत चैत २१ गते आयोजना र स्थानीयहरूबीच सहमति भए पनि आयोजनाले माग पूरा गर्न एक साता समय मागेर पनि समयसीमा सकिँदासम्म कुनै प्रगति नगरेको भन्दै स्थानीय पुनः आन्दोलित भएका हुन्। क्रसर पीडित संघर्ष समितिका संयोजक डिल्ली बहादुर मगरका अनुसार वैशाख ३ गतेदेखि क्रसर प्लान्टका सबै काम ठप्प पारिएको छ र माग पूरा नभएसम्म आन्दोलन जारी रहनेछ।
स्थानीयहरूले आयोजनाको वर्तमान गतिविधिले झनै तनाव सिर्जना गरिरहेको भन्दै सम्भावित असहज परिस्थिति उत्पन्न भएमा सम्पूर्ण जिम्मेवारी आयोजनाकै हुने चेतावनी दिएका छन्।


