CLI

कानुन विपरीत हल्दीराम नेपालमा बिक्री, विभागले रोक्यो कारोबार

काठमाडौं । डीभी ग्रुप अफ कम्पनीजअन्तर्गत सञ्चालित एफएमसीजी इम्पोर्ट एण्ड डिस्ट्रीब्युसन कम्पनी विश्वनाथ ट्रेड हाउसले (लेवल)  नराखी खाद्य सामग्री बिक्री वितरण गरेको पाइएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको हालैको अनुगमनमा विश्वनाथ ट्रेड हाउसले हल्दीराम भुजिया मसला बिना लेवल बजारमा विक्री गरेको भेटिएको हो।

उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ६ को उपदफा ३ अनुसार, स्वदेशमा उत्पादित वा विदेशबाट आयात गरिएका वस्तुमा उपभोक्ताले बुझ्न सक्ने गरी नेपाली वा अंग्रेजी भाषामा अनिवार्य रूपमा लेवल राख्नुपर्ने व्यवस्था गरिएको छ। लेवलमा उत्पादक वा आयातकर्ताको नाम, ठेगाना, दर्ता नम्बर, उत्पादन तथा उपभोग्य मिति, ब्याच नम्बर, अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी), वस्तुको गुणस्तर (यदि निर्धारण गरिएको भए), स्वास्थ्यमा असर पर्ने सामग्री भए चेतावनीसमेत समावेश गर्नुपर्ने उल्लेख छ।

यसै सन्दर्भमा, विभागले २०८१ साल चैत २० गतेभित्र स्वदेशी तथा आयातित सबै वस्तुहरूमा अनिवार्य लेवल राख्नुपर्ने सूचना जारी गरेको थियो। तर, विश्वनाथ ट्रेड हाउसले सो नियमको उल्लंघन गर्दै उपभोक्ता संरक्षण ऐनविपरीत लेवल नराखी खाद्य सामग्री बिक्री गरेको पाइएपछि विभागले तत्काल कारबाही प्रक्रिया अघि बढाएको हो।

विभागका सूचना अधिकारी जगदीश अर्यालका अनुसार, लेवल बिना खाद्य वस्तु बिक्री गरेको पाइएकाले विश्वनाथ ट्रेड हाउसलाई तीन लाख रुपैयाँ जरिवाना गरिएको छ। साथै, तीन दिनभित्र आवश्यक कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिँदै कम्पनीको कारोबार समेत अस्थायी रूपमा रोक्का गरिएको अर्यालले जानकारी दिए।

Leave Your Comment

Related News