CLI

लेवल बिना वस्तु बेच्ने कजारिया रमेश टायल्स वाणिज्य विभागको कारबाहीमा, भोलिपल्टै लेवलको नमुना सहित हाजिरी

काठमाडौं । कानुनविपरीत लेवल नराखी टायल्स र फिटिङ्स सामग्री बिक्री गर्दै आएको कजारिया रमेश टायल्समाथि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारबाही गरेको छ। सोमबार विभागको टोलीले कम्पनीको मुख्य कार्यालय सिनामंगलमा छापा मार्दा, लेवल विना उत्पादन र बिक्री भइरहेको भेटिएपछि कारबाही प्रक्रिया अघि बढाइएको हो।

उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ६ को उपदफा ३ अनुसार, स्वदेशमा उत्पादित वा विदेशबाट आयात गरिएका वस्तुमा उपभोक्ताले बुझ्न सक्ने गरी नेपाली वा अंग्रेजी भाषामा अनिवार्य रूपमा लेवल राख्नुपर्ने व्यवस्था गरिएको छ। लेवलमा उत्पादक वा आयातकर्ताको नाम, ठेगाना, दर्ता नम्बर, उत्पादन तथा उपभोग्य मिति, ब्याच नम्बर, अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी), वस्तुको गुणस्तर (यदि निर्धारण गरिएको भए), स्वास्थ्यमा असर पर्ने सामग्री भए चेतावनीसमेत समावेश गर्नुपर्ने उल्लेख छ।

विभागले यसअघि नै २०८१ साल चैत २० गतेभित्र सबै स्वदेशी तथा आयातित वस्तुमा लेबल अनिवार्य रूपमा राख्नुपर्ने सूचना जारी गरेको थियो। तर, कजारिया रमेश टायल्सले सो निर्देशनको अवज्ञा गर्दै भारतबाट आयात गरिएका र नेपालमै उत्पादित टायल्स तथा फिटिङ्सहरू लेवल विना नै बिक्री गरिरहेको पाइएको हो।

विभागका सूचना अधिकारी जगदीश अर्यालका अनुसार, कम्पनीलाई तत्काल बिक्री रोक्का गर्दै आवश्यक कागजात पेस गर्न निर्देशन दिइएको थियो । विभागको कारबाही लगत्तै मंगलबार कम्पनीले एउटा वस्तुमा नमुना लेबल तयार गरी विभागमा बुझाएको छ। कानुन उल्लंघनको आधारमा कम्पनीलाई दुई लाख ८५ हजार रुपैयाँ जरिवाना गरिएको छ । उक्त जरिवाना रकम सात दिनभित्र बुझाउनुपर्नेछ।

विभागले तोकेको जरिवाना तिरेपछि सम्पूर्ण वस्तुमा लेवल टाँस्ने सर्तमा बिक्री पुनः खुला गर्न दिने निर्णय गरिने अर्यालले जानकारी दिए ।

कजारिया रमेश टायल्सले २०८१ साउनमा चार अर्ब रुपैयाँ लगानीमा भैरहवामा टायल्स उद्योग सञ्चालनमा ल्याइसकेको छ । साथै कम्पनीले भारतबाट पनि टायल्स तथा फिटिङ्स आयात गरी बिक्री वितरण गर्दै आइरहेको छ ।

Leave Your Comment

Related News