सांसद सापकोटाद्वारा संसदमा जलविद्युत् आईपीओ अवरोधको विषयमा छानबिनको माग

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले आज प्रतिनिधि सभामा बोल्दै जलविद्युत् आयोजनाका आईपीओ रोकिएको विषयमा गम्भीर ध्यानाकर्षण गराएका छन्।

सांसद सापकोटाले नेपाल धितोपत्र बोर्डले कमिसनको कारण देखाउँदै २२ महिनादेखि ४३ वटा जलविद्युत् आयोजनाका ८९ कम्पनीको ५६ अर्ब ७ करोड ९३ लाख २७ हजार रुपैयाँ बराबरको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) अनुमति नदिएको समाचार सार्वजनिक भएको उल्लेख गरे। ती आयोजनाहरूको संयुक्त क्षमता १ हजार मेगावाटभन्दा बढी छ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल ९इप्पान०का अध्यक्षले समेत बोर्डले साना जलविद्युत् कम्पनीसँग ७ प्रतिशत र ठूला कम्पनीसँग ५ प्रतिशत कमिसन माग गरेको आरोप सार्वजनिक रूपमा लगाएको विषयमा सापकोटाले संसदमा चर्चा गरे।

उनले भने, ‘सरकारले व्यापार घाटा कम गर्दै २८ हजार मेगावाट जलविद्युत् उत्पादन गर्ने महत्वाकांक्षी योजना अघि सारेको छ। तर सरकारी निकायको यस्तो रवैयाले नीति र उद्देश्यविपरीत बाधा उत्पन्न भइरहेको छ।’

सांसद सापकोटाले यस विषयमा भरपर्दो संयन्त्रमार्फत छानबिन हुनुपर्ने माग गर्दै सभामुखमार्फत नेपाल सरकारलाई रुलिङ दिन आग्रह गरे।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार