काठमाडौं । कोकाकोला उत्पादक बोटलर्स नेपालका दुवै कम्पनीको वित्तीय अवस्था खस्किएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार दुवै कम्पनीको नाफामा गिरावट आएको देखिन्छ ।
कम्पनीहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बोटलर्स नेपाल (बालाजु) को नाफा ७३.३२ प्रतिशतले घटेको छ । कम्पनीले चालु आवको ९ महिनामा अर्थात चैत मसान्तसम्ममा १ करोड ५९ लाख ७९ हजार खुद नाफा कमाएको छ । गत वर्ष यो कम्पनीले ५ करोड ९८ लाख नाफा कमाएको थियो ।
बोटलर्स नेपाल (तराई) को नाफा पनि ६९.१० प्रतिशतले घटेको छ । यो कम्पनीले चालु आवको ९ महिनामा ८ करोड ७ लाख ५५ हजार खुद नाफा कमाएको छ । गत वर्ष यो कम्पनीले २६ करोड १४ लाख नाफा कमाएको थियो ।
व्यापार खस्किएपछि दुवै कम्पनीको नाफामा उच्च गिरावट आएको हो । समिक्षा अवधिमा बालाजुको आम्दानी गत वर्ष ७ अर्ब १८ करोडबाट घटेर चालु आवमा ७ अर्ब ७ करोडमा झरेको छ । तराईको आम्दानी भने गत आवमा ५ अर्ब ८१ करोडबाट घटेर चालु आवमा ४ अर्ब ९१ करोडमा झरेको छ । व्यापार ओरालो लागेपछि नाफा प्रभावित भएको हो ।
बैंक ब्याजदर घट्दा कम्पनीहरुको वित्तीय खर्चमा भने केही कमी आएको छ । बालाजुको २३ करोड ३३ लाख रहेको वित्तीय खर्च घटेर यस वर्ष १६ करोड २४ लाखमा झरेको छ । तराईकोे वित्तीय खर्च पनि २० करोड १२ लाखबाट घटेर यस वर्ष १३ करोड ९६ लाखमा झरेको छ ।
बालाजुको चुक्ता पुँजी १९ करोड ४८ लाख ८९ हजार रहेकोमा यसको जगेडा कोष (रिर्जभ) मा ६ अर्ब ५ करोड ४५ लाख रहेको छ । गत वर्ष भने जगेडा कोषमा ५ अर्ब ७० करोड थियो । कम्पनीको प्रतिशेयर आम्दानी ६ रुपैयाँ र प्रतिशेयर नेटवर्थ ३ हजार ४१२ रुपैयाँ रहको छ ।
त्यस्तै तराईको चुक्ता पुँजी १२ करोड १० लाख रहेकोमा यसको जगेडा कोषमा ४ अर्ब ११ करोड रहेको छ । गत वर्ष जगेडा कोषमा ३ अर्ब ९८ करोड थियो । यसको प्रतिशेयर आम्दानी ८९ रुपैयाँ र प्रतिशेयर नेटवर्थ ३ हजार ४९७ रुपैयाँ छ ।
यी दुवै कम्पनी शेयर बजारका महङ्गा कम्पनीमा रहेका छन् । बोटलर्स नेपाल (बालाजु) को बुधबार प्रतिकित्ता शेयर मूल्य १८ हजार ४४० रुपैयाँ कायम भएको थियो । यो कम्पनीको चुक्तापुँजीको २५ प्रतिशत अर्थात ४ लाख ८७ हजार २२१ कित्ता सर्वसाधारण शेयर रहेको छ ।
त्यस्तै, बोटलर्स नेपाल (तराई) को बुधबार प्रतिकित्ता शेयर मूल्य १२ हजार ७५० रुपैयाँ कायम भएको थियो । यो कम्पनीको चुक्तापुँजीको २५ प्रतिशत अर्थात ३ लाख २ हजार ५०० कित्ता सर्वसाधारण शेयर रहेको छ ।