एफडीआई १२१ प्रतिशतले बढ्यो, व्यवसायिक भिसा लिनेको संख्या समेत बढ्यो

काठमाडौं । नेपालमा आउने प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) शतप्रतिशत भन्दा बढीले बढेको छ ।

उद्योग विभागका अनुसार चालू आर्थिक वर्ष (आव) को १० महिनामा विदेशी लगानी प्रतिबद्धता ५७ अर्ब ६ करोड ७६ लाख रुपैयाँ आएको छ । उक्त लगानी प्रत्यक्ष सहभागिता मार्गबाट र स्वचालित मार्गबाट गरी आएको हो । प्रत्यक्ष सहभागिता मार्गबाट ५३ अर्ब ७० करोड २४ लाख रुपैयाँ र स्वचालित मार्गबाट ३ अर्ब ३६ करोड ५१ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको हो । प्रत्यक्ष सहभागिता मार्गबाट २ सय ९४ वटा उद्योग र स्वचालित मार्गबाट २ सय ८२ वटा उद्योग स्थापनाका लागि लगानी प्रतिबद्धता आएको छ ।

यो १० महिनामा ५७६ वटा उद्योग स्थापना गरेर १४ हजार ७१९ जनालाई रोजगारी दिनेगरी लगानी प्रतिबद्धता आएको छ । यो सँगै विदेशी लगानी दोस्रो त्रैमास (६ महिना) को तुलनामा १२१.३९ प्रतिशतले बढी हो । चालु आवको ६ महिनामा २५ अर्ब ७७ करोड ६४ लाख रुपैयाँ विदेशी लगानी प्रतिवद्धता आएको छ ।

विभागका निर्देशक एवं सूचना अधिकारी अर्जुनसेन ओलीका अनुसार पछिल्लो समय नेपालमा आउने वैदेशिक लगानी प्रतिबद्धता बढ्दै गएको छ । लगानीकर्ता आफैं आउनु पर्ने व्यवस्था हटे सँगै अर्थात् स्वचालित मार्गको प्रयोग सँगै लगानी प्रतिवद्धता रकम बढेको उनको भनाई छ । विदेशी लगाीकर्ताहरुका लागि लगानी ल्याउनका लागि स्वचालित मार्ग र प्रत्यक्ष सहभागी अर्थात् विभागमा आउन सक्ने व्यवस्था भए पनि उनीहरु नेपालमा आफनो प्रतिनिधि पठाई लगानी भित्राउने गरेको पाईन्छ ।

विभागका अनुसार चालु आवको १० महिनामा सबैभन्दा बढी लगानी प्रतिबद्धता सेवामूलक उद्योगमा आएको छ भने सबैभन्दा कम उत्पादनमूलक उद्योगमा छ । समीक्षा अवधिमा सेवामूलकमा २९ अर्ब ९८ करोड ७७ लाख रुपैयाँ, पर्यटनमूलकमा २१ अर्ब ३३ करोड ७५ लाख रुपैयाँ, उत्पादनमूलकमा २ अर्ब ९२ करोड २० लाख रुपैयाँ ,कृषिमूलकमा १ अर्ब ४२ करोड ६० लाख रुपैयाँ, सूचना प्रविधिमूलकमा १ अर्ब ३१ करोड ८८ लाख रुपैयाँ, पूर्वाधारमूलकमा ५ करोड रुपैयाँ र ऊर्जामा २ करोड ५५ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ ।

६६ वटा सेवामूलक, दुई सय २३ वटा पर्यटनमूलक, ३९ वटा उत्पादनमूलक, १० वटा कृषिमूलक, २३५ वटा सूचना प्रविधिमूलक र २ वटा पूर्वाधारमूलक उद्योग स्थापनाको उद्देश्यसहित उक्त लगानी प्रतिबद्धता आएको हो । उक्त उद्योगहरूमध्ये सबैभन्दा बढी लगानी प्रतिबद्धता साना उद्योगका लागि आएको छ । विभगाका अनुसार उक्त लगानी प्रतिवद्धता ६२ वटा साना, १० वटा मझौला र ४ वटा ठूला उद्योगका लागि आएको हो ।

२०८१ साउनयता सरकारले विदेशी लगानीकर्ताका लागि भन्दै ३१९ वटा भिसा उपलब्ध गराएको छ । उक्त अवधिमा परराष्ट्र १ हजार ८९६ जना लगानीकर्ता, ८०७ जना डिपेन्डेन्ट र ३१६ जना प्रतिनिधिलाई व्यावसायिक भिसा उपलब्ध गराएको छ । वैशाखमा मात्र १३४ लगानीकर्ता, ८१ जना डिपेन्डेन्ट र ४५ प्रतिनिधिलाई व्यावसायिक भिसा उपलब्ध गराएको छ ।

२०८२ वैशाखमा मात्र विदेशी लगानीकर्ताले ९७ वटा उद्योग स्थापनाका लागि ९ अर्ब ९ करोड २२ लाख रुपैयाँ लगानी प्रतिबद्धता जनाएका छन् । उक्त समयमा प्रत्यक्ष सहभागीतामार्फत् ८ अर्ब ६२ करोड ५० लाख रुपैयाँ र स्वचालितमार्गबाट ४६ करोड ७२ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको हो । जसमा उद्योगको संख्या क्रमश: ३९ वटा र ५८ वटा रहेको छ भने २ हजार ५९३ जनालाई रोजगारी दिने लक्ष्य राखिएको छ ।

निर्देशक ओलीका अनुसार १० महिनाको अवधिमा विदेशी लगानीकर्ताहरूले नेपालमा रहेको उद्योगका लागि सेयर खरिद सम्झौता (एसपीए) र साझेदारी सदस्यता सम्झौता (एसएसए) गरेका छन् । लगानीकर्ताहरूले १० महिनाको अवधिमा ३२ वटा उद्योगका लागि १ अर्ब ९४ करोड ५० लाख रुपैयाँ बराबरको एसपीए र एसएसए गरेका छन् । सोही अवधिमा ५५ वटा र वैशाखमा मात्र ८ वटा उद्योगको प्रविधि हस्तान्तरण सम्झौता (टीटीए) गरिएको छ । विदेशी लगानीकर्ताले विभागमार्फत भने न्यूनतम २ करोड रुपैयाँदेखि ६ अर्ब रुपैयाँसम्मको लगानी भित्र्याउन सक्नेछन् । ६ अर्ब रुपैयाँभन्दा माथिका लगानी भने लगानी बोर्डमार्फत स्वीकृत गरिन्छ ।

विदेशी लगानीकर्तालाई प्रत्यक्ष विदेशी लगानी तथा हस्तान्तरण ऐन, २०७५ ले नेपालमा रहेको उद्योग क्षेत्रमा लगानी गर्ने अधिकार प्रदान गरेको छ । लगानीका साथै लाभांश लैजान पनि उक्त ऐनलाई नै बाटो खुला गरेको छ । निर्देशक ओलीका अनुसार उक्त ऐनअनुरूप विदेशी लगानीकर्ताले नेपालमा लगानी गरेपछि आफ्नो लगानीको सेयर वा उद्योग पूर्ण वा आंशिकरूपमा बिक्री गरी करचुक्ता गरेर आफ्नो लगानी तथा मुनाफा लैजान सक्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार