CLI

रुपन्देहीमा साढे एक अर्ब लगानीमा अन्तर्राष्ट्रियस्तरको गार्मेन्ट उद्योग स्थापना हुँदै, १२ सयलाई प्रत्यक्ष रोजगारी

काठमाडौं । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ र नेपाली कांग्रेसका कोषाध्यक्ष एवं व्यवसायी उमेश श्रेष्ठ लगायतको संयुक्त लगानीमा रुपन्देहीमा अत्याधुनिक गार्मेन्ट उद्योग सञ्चालनमा ल्याउने तयारी गरिएको छ।

बुधबार भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज) मा उद्योगको भूमि पूजन तथा शिलान्यास कार्यक्रम सम्पन्न भएको छ। प्रारम्भिक चरणमै करिब एक अर्ब ५० करोड रुपैयाँको लगानीमा गार्मेन्ट उद्योग स्थापना गरिने जनाइएको छ।

उद्योग सञ्चालनमा आएपछि अमेरिका र युरोपका लागि तयारी पोशाक ९रेडीमेड गार्मेन्ट० निर्यात गरिनेछ। त्यस्तै, भाटभटेनीका शाखामार्फत घरेलु बजारमा समेत गुणस्तरीय तयारी पोशाक बिक्री गरिने योजना छ।

उद्योग सञ्चालनका लागि आवश्यक कच्चा पदार्थमध्ये केही भारत र चीनबाट आयात गरिनेछ भने, उत्पादन प्रारम्भ गर्नुअघि श्रमिकहरूलाई अन्तर्राष्ट्रिय स्तरका विज्ञहरूबाट तालिम दिइने व्यवस्था गरिनेछ।

उद्योग आगामी १० महिनाभित्र सञ्चालनमा ल्याउने लक्ष्य लिएको छ। प्रारम्भिक चरणमै करिब १ हजार २०० जनालाई प्रत्यक्ष रोजगारी दिइनेछ, भने विस्तारसँगै थप रोजगारी सृजना गरिने छ।

गार्मेन्ट उद्योग पूर्ण रूपमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण गरिनेछ। उद्योगमा अत्याधुनिक प्रविधिबाट सुसज्जित मेसिनरी, स्वास्थ्य तथा सुरक्षा मापदण्ड, स्वच्छ वातावरण प्रणाली, १ मेगावाट क्षमताको सौर्य ऊर्जा संयन्त्र तथा ब्याट्री स्टोरेज जडान गरिने योजना छ।

सरकारले विशेष आर्थिक क्षेत्रभित्र उद्योग स्थापना गर्ने उद्यमीहरूका लागि तीन वर्षसम्म पूर्ण भाडा छुटको व्यवस्था गरेको छ। त्यसपछिका वर्षहरूमा पनि भाडादर घटाएर ५ रुपैयाँ प्रतिवर्गमिटर तोकिएको छ, जुन अघिल्लो दर २० रुपैयाँभन्दा चार गुणा कम हो।

रुपन्देही औद्योगिक नगरीमा स्थापित हुन लागेको यो गार्मेन्ट उद्योगले न केवल निर्यात व्यापारमा योगदान पुर्‍याउनेछ, तर स्थानीय रोजगारी र सीप विकासमा समेत महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ।

Leave Your Comment

Related News