काठमाडौं । चीनको तिब्बतबाट नेपाल प्रवेश गर्ने भोटेकोशी नदीमा मंगलबार आएको विनाशकारी बाढीले जलविद्युत क्षेत्रमा ठूलो क्षति पुर्याएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अनुसार, बाढीका कारण करिब ६०० मेगावाट भन्दा बढी क्षमताका आयोजनाहरू प्रभावित भएका छन् ।
इप्पानका अनुसार, सञ्चालनमा रहेका २५० मेगावाट बराबरका आयोजनाको उत्पादन पूर्ण रूपमा बन्द भएको छ भने ३५० मेगावाटभन्दा बढी क्षमताका निर्माणाधीन आयोजनाहरूको काम रोकिएको छ ।
उत्पादन बन्द भएका आयोजनाहरूमा रसुवागढी (१११ मेगावाट), त्रिशूली ३ ‘ए’ (६० मेगावाट), चिलिमे (२२ मेगावाट), माथिल्लो मैलुङ (१४ मेगावाट), मैलुङ खोला (५ मेगावाट), त्रिशूली ३ ‘बी’ हब सबस्टेसनमा क्षति पुगेकाले मैलुङ, माथिल्लो मैलुङ, देवीघाट र त्रिशूली जलविद्युत केन्द्रबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्न नसकिएको इप्पानले जनाएको छ ।
यसैगरी निर्माण कार्य रोकिएका आयोजनाहरूमा माथिल्लो त्रिशूली–१ (२१६ मेगावाट) सुपर त्रिशूली (१०० मेगावाट), त्रिशूली ३ ‘बी’ (३७ मेगावाट) को प्रसारण लाइन र सबस्टेसनमा पुगेको क्षतिका कारण आगामी केही दिनसम्म विद्युत उत्पादन र प्रसारण ठप्प हुँदा दैनिक करोडौं रुपैयाँ घाटा हुने निश्चित रहेको इप्पानको भनाइ छ ।
इप्पानद्वारा उद्धार र पुनर्निर्माणका लागि आग्रह
इप्पानले बाढीमा फसेका १५० जनाभन्दा बढी नागरिकको उद्धारमा खटिएकोमा नेपाल सरकार, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलप्रति विज्ञप्तिमार्फत् आभार व्यक्त गरेको छ ।
साथै, संस्थाले क्षतिग्रस्त संरचनाहरूको शीघ्र पुनर्निर्माणका लागि आवश्यक नीतिगत सहजीकरण गर्न र विद्युत उत्पादन तथा प्रसारण सुचारु गराउन सरकारसँग आग्रह गरेको छ । भविष्यमा यस्ता घटनाबाट थप जनधनको क्षति हुन नदिन आवश्यक कदम चाल्न पनि इप्पानले जोड दिएको छ ।
इप्पानले बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ताहरूको शीघ्र खोजी र घाइतेहरूको स्वास्थ्य लाभको कामना गरेको छ । साथै, देशभरका नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन पनि अपिल गरेको छ ।

