काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले चितवनमा लोडसेडिङ सुरु भएको भन्ने कुरामा सत्यता नरहेको बताएका छन् । आइतबार काठमाडौंमा सञ्चारकर्मीसँग कुरा गर्दै शाक्यले मर्मत कार्यका लागि विद्युत आपूर्ति रोकिएको तर लोडसेडिङ भनेर गलत तरिकाले व्याख्या गरिएको बताए ।
चितवनमा रहेको सबस्टेशन अपग्रेड गर्नका लागि पुरानो कन्डक्टर फेर्ने काम भएकाले आइतबार र सोमबार विद्युत् आपूर्ति बन्द गर्न लागिएको उनले जानकारी दिए । शाक्यले पुरानो कन्डक्टरका कारण लोड धान्न नसक्ने अवस्था आएपछि नयाँ कन्डक्टर परिवर्तन गर्न खोजिएको बताए । विद्युत् क्षमतावृद्धि गर्दा पुरानो नेटवर्क धान्न नसकेका कारण बत्ती जाने समस्या देखिएको उनले उल्लेख गरे ।
त्यस्तै शाक्यले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता विवाद समाधानका लागि गठित प्रशासकीय पुनरवलोकन समितिको म्याद थप ३५ दिनका लागि थप गरिएको जानकारी दिए । समितिले निर्णय गरेपछि बक्यौता उठाइने भन्दै शाक्यले बक्यौता उठ्न नसके लाइन काटिने स्पष्ट पारे ।

