पर्वत।महाशिला गाउँपालिका-६ मा रहेको फलामखानी सञ्चालनको तयारीका लागि खानीसम्म पुग्ने पदमार्ग निर्माण गरिएको छ।
निवर्तमान सरकारको मन्त्रिपरिषद्को बैठकबाट फलामखानी सञ्चालनका लागि मन्त्रालय र सचिवलाई निर्देशन दिएपछि अध्ययन, अनुसन्धान गर्नका लागि आउने टोलीलाई खानीसम्म पुग्न सहज होस् र सञ्चालन भइसकेपछि पनि प्रशोधन केन्द्रसम्म लैजान सहज होस् भनेर व्यवस्थित पदमार्ग निर्माण गरिएको हो।
प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत गाउँपालिकाले नियुक्त गरेका श्रमिक लगाएर पदमार्ग निर्माण गरिएको वडा नंं ६ का अध्यक्ष गोविन्दबहादुर विकले जानकारी दिए।
अध्यक्ष विकका अनुसार खानी तथा भूगर्भ विभागबाट भूगर्भविद् सन्तोष घिमिरेको टोली आउने तयारी गरेको छ। यहाँ रहेका मुख्य खानी रनेमने, बूढीखानी र धाउखानीसम्म जाने बाटो सम्पन्न भएको हो। यसैवर्ष पदमार्ग निर्माण गरिएको विकले जानकारी दिए।
पटकपटक अनुसन्धान भए पनि विसं २००७ देखि बन्द भएको फलामखानी उत्खनन हुने आशा स्थानीयले मारेका छैनन्। बन्द भएको ७५ वर्ष लामो अवधिसम्म पनि राज्यका कुनै पनि निकायले फलामखानी सञ्चालनका लागि सरकारले चासो यस क्षेत्रका नागरिकमा उत्साह जागेको छ।
विगत चार वर्षअघि पनि खानी तथा भूगर्भ विभागको टोलीले खानीको उत्खनन गर्न प्रक्रिया सुरु गरेको भए पनि अध्ययन अनुसन्धानमात्रै गरेर फर्किएको थियो। भूगर्भविद्ले ईआरटी (इलेक्ट्रिकल रेसिस्टीभिटी टेक्नोलोजी)का माध्यमबाट अध्ययन गर्दा प्रसस्त फलाम रहेको प्रमाण भेटिएको थियो। कुनै ठाउँमा सतहमा फलाम भेटिएको थियो भने कुनै स्थानमा जमिनमुनि भएको पाइएको थियो।
फलामखानीमा दुई किलोमिटर लम्बाइमा खानी फैलिएको अनुमान छ। स्थानीयले पटकपटक फलामखानीको उत्खननको माग गर्दा कतैबाट तदारुकता नदेखाएपछि निराश बनेका छन्।
धुवाँकोटे फलामले चिनिएको खानी सञ्चालनका लागि खानी तथा भूगर्भ विभाग र लुम्बिनीस्थित नेपाल पर्वत खनिज उद्योगबीच विसं २०६७ पुस ८ मा सम्झौता पनि भएको थियो। उक्त कम्पनीले लामो समय चासो नदेखाएपछि विभागले अध्ययन गरे पनि अन्य प्रक्रिया भने सुरु नभएको वडाध्यक्ष विकले बताए।
उक्त फलामखानी सदरमुकाम कुश्मा बजारबाट ३५ किलोमिटरको दुरीमा रहेको छ। महाशिलाको वडा नं ५ लुङ्खुदेउराली र वडा नं ६ फलामखानी क्षेत्रमा फैलिएको यो खानीको विस्तृत सर्वेक्षण गरी उत्खनन गर्न लामो समयदेखि स्थानीयले माग गर्दै आएका छन्।

