काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइन बक्यौता बुझाउन कात्तिक १७ सम्मको अल्टिमेटम दिएको छ । प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयले आइतबार सूचना जारी गर्दै बक्यौता बुझाउन अल्टमेटम दिएको हो । प्राधिकरण संचालक समितिको असोज १० को निर्णयानुसार यो सूचना प्रकाशित गरिएको उल्लेख छ ।
डेडिकेटेड फिडर तथा ट्रक लाईनबाट विद्युत सप्लाई लिएका उपभोक्ताहरुलाई बक्यौता विद्युत महशुल बुझाउन भन्दै प्राधिकरणले मासिक किस्तावन्दीमा रकम भुक्तानी गर्न इच्छुक उपभोक्ताहरुलाई बढिमा २८ महिनाको किस्तावन्दीको सुविधा उपलब्ध गराइने जनाएको छ ।
”तोकिएको समय सीमाभित्र बक्यौता महशुल बुझाउन नआएमा नेपाल विद्युत प्राधिकरण, विद्युत महशुल संकलन विनियमावली, २०७८ बमोजिम कारवाही हुनेछ,” प्राधिकरणले भनेको छ ।
विद्युत प्राधिकरणको डेडिकेटेड फिडर तथा ट्रंक लाईनमार्फत विद्युत उपभोग गरेबापत २०७२ माघदेखि २०७५ बैशाख महिनासम्मको विद्युत महशुल बक्यौता रहेका ग्राहकहरुलाई प्रशासकीय पुनरावलोकनको लागि २०८२ जेष्ठ मसान्तभित्र निवेदन दिन सक्ने म्याद कायम गरी मिति २०८२वैशाख २६ र ३० मा सूचना प्रकाशित गरिएको थियो ।
सो म्याद कायम गर्ने निर्णय तथा प्रशासकीय पुनरावलोकनसँग सम्बन्धित सम्पूर्ण काम कारवाहीहरु संचालक समितिको मिति २०८२ असोज १० को निर्णयानुसार बदर भएको थियो ।

