काठमाडौं । गत भदौ २३ र २४ गते जेन–जी आन्दोलनका क्रममा तोडफोड, चोरी र आगजनीका कारण ठुलो मात्रामा क्षतिग्रस्त बनेको हिल्टन होटलको अर्थमन्त्री रामेश्वर खनालले स्थलगत निरीक्षण गरेका छन् ।
निरीक्षणका क्रममा मन्त्री खनालले होटल पुनः सञ्चालनमा ल्याउन आवश्यक सहयोग र समन्वय गर्न सरकारले तयार रहेको प्रतिवद्धता व्यक्त गरे ।
शंकर ग्रुप अन्तर्गतको हिल्टन होटलमा भएको क्षतिले समग्र लगानी वातावरण, पर्यटन क्षेत्र, औद्योगिक पूर्वाधार र नेपालको अन्तर्राष्ट्रिय छविमाथि गम्भीर असर पारेको भन्दै होटल पक्षले सरकारसँग पुनर्निर्माणमा सहयोग गर्न अपील गरेको छ।
सन् २०२४ देखि सञ्चालनमा रहेको होटलले नियमित कर तथा राजस्व तिर्दै आएको भए पनि हाल होटल पूर्ण रूपमा अवरुद्ध भएको र संरचनागत तथा आर्थिक रुपमा ठूलो लगानी आवश्यक परेको बताइएको छ।
माग पत्रमार्फत कपोलकल्पित समाचार र भ्रान्ति फैलाउनेलाई कानुनी कारबाही गर्न, पुनर्निर्माण खर्चलाई ध्यानमा राखी कर तथा राजस्वमा सहुलियत दिन, बिमा रकमको भुक्तानी प्रक्रिया सहज बनाउन, ऋणको ब्याज र दायित्वमा अस्थायी सहुलियत दिन, साथै सुरक्षा व्यवस्थामा कडाइ गर्न माग गरिएको छ।
यस्तै, लोडसेडिङको समयमा आपूर्ति नभएको बिजुलीमा प्रिमियम शुल्क र अप्रमाणित बिलको आधारमा उठाउन खोजिएको डेडिकेटेड तथा ट्रंक लाइन बक्यौताबारे पुनरावलोकन गरी उचित समाधान गर्न पनि अनुरोध गरिएको छ।
अर्थमन्त्री खनालले होटल पुनः सञ्चालनमा ल्याउन र लगानीकर्ताको मनोबल उच्च बनाउन सरकार गम्भीरतापूर्वक लाग्ने प्रतिवद्धता व्यक्त गर्दै माग सम्बोधनमा आवश्यक पहल गर्ने आश्वासन दिए ।

