श्रीनगर एग्रीटेक इन्डष्ट्रिजको आइपीओ बिक्री खुला, हेरौं कस्तो छ कम्पनी ?

काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले असोज २६ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा २५ करोड १० लाख ४९ हजार ३०० रुपैयाँ बराबरको २५ लाख १० हजार ४९३ कित्ता सेयर बिक्री खुला गरेको हो ।
श्रीनगरले जारी पुँजी १ अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँको २० प्रतिशतले हुने ३२ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ३२ लाख ६२ हजार ५०० कित्ता साधारण सेयर बिक्री गर्न अनुमति पाएको थियो ।

जसमध्ये १ लाख ६३ हजार १२५ कित्ता सेयर आयोजना प्रभावित स्थानीयलाई बिक्री गरिसकेको छ । यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई पनि ३ लाख ९ हजार ९३८ कित्ता आइपीओ निष्कासन गरिसकेको छ । आम सर्वसाधारणलाई जारी गरिएको आइपीओमा असोज २९ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा नबिकेमा कात्तिक ९ गतेसम्म आवेदन दिन पाइनेछ । यो आइपीओमा सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर मार्फत आवेदन दिन पाइनेछ ।

कस्तो छ रेटिङको अवस्था ?

इक्रा नेपालले कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्ने रेटिङ्ग प्रदान गरेको छ । इक्रा नेपालले कम्पनीलाई २०८१ माघ ११ गते क्रेडिट रेटिङ्ग सम्बन्धी रेटिङ्ग ग्रेड प्रदान गरेको थियो। सो रेटिङ्गको वैद्यता २०८२ माघ ६ गतेसम्म रहनेछ ।

कति कित्ताका लागि दिने आवेदन ?

श्रीनगर इनर्जीको आइपीओ पाउन लगानीकर्ताले भाग्यकै भर पर्नुपर्ने देखिएको छ । कम्पनीले सर्वसाधारणका लागि २५ लाख १० हजार ४९३ कित्ता मात्र सेयर निष्कासन गरेको छ । यसआधारमा श्रीनगर इनर्जीको आइपीओ न्यूनतम १० कित्ताका दरले बाँडफाँट गर्दा २ लाख ५१ हजार जनाले मात्र सेयर हात पार्नेछन् ।

यसआधारमा हेर्ने हो भने यो आइपीओमा पनि १० कित्ताका लागि आवेदन दिँदा पर्याप्त हुने देखिन्छ । यद्यपि, कम्पनीले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ ।

कम्पनीको स्थापनाकाल देखि हालसम्मको संक्षिप्त इतिहास, र संगठित संस्थाको मुख्य उद्देश्यहरु :

कम्पनी ऐन २०६३ बमोजिम २०६१ कात्तिक १९ गते स्थापना भएको हो । त्यसबेला यो कम्पनी एक्वाटीक इको सिस्टम्स् एण्ड फिसरिज म्यानेजमेन्ट कन्सल्ट प्रा. लिको नाममा दर्ता भएको हो । पछि २०७४ जेठ २५ गतेमा श्रीनगर एग्रीटेक इन्डष्ट्रिज प्रालिको रुपमा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको हो ।

यस कम्पनीको रजिष्टर्ड कार्यालय रुपन्देही जिल्ला, शुद्धोधन गाउँपालिका, वडा नं.४ मा रहेको छ भने सम्पर्क कार्यालय काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका, टङ्गाल, वडा नं.२ मा रहेको छ ।

श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेड नेपालकै पहिलो ISO 9001:20215 प्रमाणित एकिकृत कुषि व्यवसाय हो । श्रीनगर व्यवसायिक समूह अन्तर्गत २०५९ वैशाख १२ गतेदेखि श्रीनगर एग्रो फार्म प्रा. लि. मार्फत प्यारेन्ट तथा ह्याचरी उद्योग स्थापना गरिएको र सो उद्योगलाई आवश्यक पर्ने दाना तथा आहार पनि आफै उत्पादन गर्ने उद्देश्य सहित २०६१ कात्तिक १९ गते श्रीनगर एग्रीटेक इन्डष्ट्रिज प्रा. लि.को स्थापना गरी दुबै उद्योग सफलतापूर्वक संचालन गरिएको थियो ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय पद्धतिको आवश्यकता अनुसार एकै किसिमको कृषि जन्य उत्पादन तथा सेवा सम्बन्धि उद्योगलाई एकिकृत रुपमा संचालन गर्दा उद्योगलाई फाइदा हुने तथा बजारलाई आवश्यक पर्ने कृषि जन्य उत्पादन परिपुर्तिमा सहजिकरण गर्ने हेतुले २०८० असोज १९ गते दुबै उद्योग एकिकृत गरी श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लि. अन्तर्गत एकमुष्ठ रुपमा सम्पूर्ण (फार्म तथा ह्याचरी, दाना तथा आहार, मासु प्रशोधन तथा शित भण्डार) उद्योगहरु संचालन गर्दै आएको छ ।

संगठित संस्थाले श्रीकिसान इनोभेसन हवको माध्मयबाट किसानहरुको क्षमता अभिवृद्धि गर्नका लागि समय–समयमा तालिम प्रदान गर्नुका साथै, आफ्ना ग्राहकहरुलाई कृषि खेती, पशुपंक्षी पालन तथा व्यवसायसँग सम्बन्धित अन्य परामर्श र प्राविधिक सहयोग उपलब्ध गराउँदै आइरहेको छ ।

पुँजी संरचना र वित्तीय प्रक्षेपण

कम्पनीको अधिकृत पुँजी र जारी पुँजी १ अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँ रहेको छ । कम्पनीको चुक्ता पुँजी १ अर्ब ३० करोड ५० लाख रुपैयाँ रहेको छ । आइपीओ निष्कासनपछि संस्थापक सेयरधनीको हिस्सा ८० प्रतिशत र आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाको हिस्सा १ प्रतिशत र सर्वसाधारण समूहको हिस्सा १९ प्रतिशत रहनेछ ।

कम्पनीले आर्थिक वर्ष २०८४–८५ सम्म पुँजी बढाउने कुनै योजना बनाएको छैन । उक्त आवसम्म आइपीओ बिक्रीपछि कायम हुने १ अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँ पुँजी नै यथावत् रहनेछ ।

चालु आर्थिक वर्षको अन्त्यसम्म ५ करोड ७० लाख रुपैयाँ नाफा कमाउने वित्तीय प्रक्षेपणमा उल्लेख गरेको छ । त्यस्तै, २०८३—८४ मा १५ करोड ७० लाख रुपैयाँ नाफा कमाउने प्रक्षेपण गरेको छ ।

यता, चालु आर्थिक वर्षको अन्त्यसम्म प्रतिसेयर आम्दानी ३.५० रुपैयाँ र प्रतिसेयर नेटवर्थ १०५.२१ रुपैयाँ पुग्ने प्रक्षेपण छ । आर्थिक वर्ष २०८३–८४ सम्ममा प्रतिसेयर आम्दानी ८.३८ रुपैयाँ पुग्ने र प्रतिसेयर नेटवर्थ ११४.८३ रुपैयाँ पुग्ने प्रक्षेपण छ ।

आइपीओ जारी गर्नुको उद्देश्य

कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा व्यवस्था भए अनुसार जारी पुँजीको २० प्रतिशत अर्थात, ३२ करोड ६२ लाख रुपैयाँ बराबरको ३२ लाख ६२ हजार कित्ता सेयर सर्वसाधारणहरुको (आयोजना प्रभावित क्षेत्रका वासिन्दाका लागि छुट्टयाइएको समेत) निमित्त छुटयाईएको कम्पनीले जनाएको छ ।

त्यस्तै, सर्वसाधारणमा सेयर जारी गरी संगठित संस्थामा सर्वसाधारण सेयरधनीहरुको तर्फबाट समेत प्रतिनिधित्व गराउन, बैकबाट लिईएको कर्जा भुक्तानीको लागि रकम संकलन गर्न, र नयाँ प्रोजेक्टमा गरेको लगानी रकम भुक्तानी गर्नका लागि आइपीओ जारी गर्न लागिएको हो ।

वित्तीय अवस्था

गत आर्थिक वर्षको असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको नाफा २ करोड १९ लाख रुपैयाँ रहेको छ । सो अवधिसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १०२.१३ रुपैयाँ छ । प्रतिसेयर आम्दानी भने १.६८ छ । जगेडा कोषमा २ करोड ७८ लाख जम्मा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार