CLI
Global College

३८.६७ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, विद्युत बिक्रीबाट ६१.३५ करोड आम्दानी

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। जस अनुसार यस अवधिमा कम्पनीको खुद नाफा ३८.६७ प्रतिशतले बढेको छ । पहिलो त्रैमासको अवधिमा कम्पनीले ४२ करोड ३४ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ३० करोड ५३ लाख ९३ हजार रुपैयाँ थियो।

यस अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ६१ करोड ३५ लाख ५९ हजार रुपैयाँ आम्दानी गरेको छ। जुन अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा २३.७० प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी ४९ करोड ६० लाख १९ हजार रुपैयाँ थियो । कम्पनीले ४२ मेगावाटको मिस्ट्री खोला र ५ मेगावाटको तादीखोला आयोजनाबाट नियमित विद्युत उत्पादन गरिरहेको छ।

यस अवधिमा कम्पनीले बीमा दाबीको ९ लाख रुपैयाँ पनि प्राप्त गरेको छ। कम्पनीको संचालन मुनाफा ३७ करोड ६५ लाखबाट बढेर ४७ करोड १६ लाख पुगेको छ । कम्पनीको कर अगाडीको नाफा भने ४३ करोड ४७ लाख रहेको छ।

यस अवधिमा कम्पनीको चुक्ता पुँजी २ अर्ब ६० करोड २७ लाख रहेको छ। कम्पनीको रिटेन अर्निंङ १ अर्ब ७६  करोड रहेको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको चुक्ता पुँजी २ अर्ब २६ करोड ३२ लाख थियो। कम्पनीले आर्थिक वर्ष २०८०/८१ बाट १५ प्रतिशत बोनस शेयर वितरण गरेपछि चुक्ता पुँजी बढेको हो । कम्पनीले हालै मात्र आर्थिक वर्ष २०८१/८२ को लागि २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

यस अवधिमा कम्पनीको वार्षिकीकरण नगरिएको प्रति शेयर आम्दानी १३.४९ रुपैयाँबाट बढेर १६.२७ रुपैयाँ पुगेको छ।  कम्पनीको प्रति शेयर नेटवर्थ १६७ रुपैयाँ ७८ पैसा रहेको छ।

Leave Your Comment

Related News