CLI

झापा इनर्जीको विद्युत बिक्रीबाट १४ करोड आम्दानी

बिर्तामोड । झापाको शिवसताक्षी–४ बोलोचोकस्थित झापा इनर्जी लिमिटेडले नेपाल प्राधिकरणलाई विद्युत बिक्री गरी १३ करोड ८१ लाख रुपैयाँ आम्दानी गरेको छ । झापा इनर्जी लिमिटेडको सातौं वार्षिक साधारणसभामा उक्त जानकारी दिइएको हो ।

कोशी प्रदेशकै सबैभन्दा ठूलो सौर्य उर्जा कम्पनीको रुपमा रहेको यसले मंसिर मसान्तसम्म १ करोड ९० लाख युनिट विद्युत उत्पादन गरी उक्त आम्दानी गरेको लिमिटेडका प्रबन्ध सञ्चालक सुवास भट्टराईले जानकारी दिए । २०७८ मंसिर १२ गते झापा इनर्जी र प्राधिकरणबिच विद्युत खरिद बिक्री सम्झौता भएको थियो ।

सौर्य ऊर्जा परियोजनाबाट उत्पादित विद्युत ३३ केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत दमक वितरण केन्द्रअन्तर्गत बुलुचोक सब–स्टेसन हुँदै प्राधिकरणको राष्ट्रिय प्रसारण प्रणालीमा जोडेको उनले बताए ।

झापा इनर्जीले उत्पादन गरेको विद्युत् नेपाल विद्युत प्राधिकरणले प्रतियुनिट सात रुपैयाँ ३० पैसाका दरले खरिद गर्दछ । इनर्जीले २०८० साल माघ १० गतेदेखि विद्युत्को व्यावसायिक उत्पादन गर्दै आएको छ भने त्यसअघि २०७८ साल मङ्सिर १२ गते प्राधिकरणले इनर्जीसँग विद्युत् खरिद बिक्रीको सम्झौता (पीपीए) गरेको थियो । बुलुचोकमा २२ बिघा जग्गा खरिद गरेर इनर्जीले परियोजना निर्माण गरेको छ । परियोजनास्थलमा २१ हजार ६०० वटा सौर्य प्यानल जडान गरिएका छन् ।

झापा इनर्जीले आव २०८०/८१ मा पाँच करोड २८ लाख ८४ हजार ७७७ मूल्यबराबरको सौर्य विद्युत् उत्पादन गरी प्राधिकरणलाई बिक्री गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार