काठमाडौं । ह्यान्डलूम फेब्रिक्स मेकर्स अफ नेपालका अध्यक्ष रोशन कुमार पोखरेलले सोमबार पत्रकार सम्मेलनमा नेपालमा रेशम उत्पादनको ठूलो सम्भावना भए पनि वर्तमानमा नीति र प्रविधिको अभावले उद्योगले लाभ उठाउन नसकेको बताएका छन्।
उनका अनुसार, नेपालमा रेशम उत्पादनका लागि उपयुक्त वातावरण रहेको छ। उनले बताए, “यदि २२ हजार हेक्टर जमिनमा किमु खेती गरियो भने वार्षिक ५ खर्ब रुपैयाँसम्म आम्दानी सम्भव छ । रेशम मूल्य उच्च भएकाले यसबाट राम्रो आम्दानी गर्न सकिन्छ।”
पोखरेलले भने, “हाल नीति राम्रो नहुँदा हामीले आम्दानीको सम्भावना पूर्ण रूपमा उपयोग गर्न सकेका छैनौं। हामीसँग आधुनिक प्रविधि छैन र रेशमलाई प्राथमिकतामा राखेर आवश्यक पहल गर्नुपर्ने अवस्था छ।”
उनले सरकारसँग आग्रह गर्दै रेशम उद्योगलाई उद्योगिक प्राथमिकता, प्राविधिक सहयोग, र उत्पादन प्रवर्द्धनका कार्यक्रम ल्याउन पहल गर्नुपर्ने जोड दिएका छन्। हाल नेपालमा रेशम उद्योग अपेक्षाकृत सानो भए पनि, पोखरेलका अनुसार उचित योजना र लगानी आएमा यो उद्योगले आर्थिक र रोजगारीको ठूलो योगदान दिन सक्छ।


