काठमाडौं । सरकारले स्वचालित मार्ग (अटोमेटिक रुट) मार्फत भित्रिने प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) को अधिकतम सीमा हटाएको छ। यससँगै तोकिएका क्षेत्रहरूमा विदेशी लगानीकर्ताले पूर्वस्वीकृतिको झन्झटबिना अब जतिसुकै परिमाणको लगानी नेपालमा भित्र्याउन सक्ने भएका छन्।
सरकारले नेपालमा विदेशी लगानी आकर्षित गर्ने प्रक्रियालाई थप सरलीकरण गर्दै स्वचालित मार्ग (अटोमेटिक रुट) मार्फत भित्रिने प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) को अधिकतम रकम सीमा हटाएको हो ।
यसअघि स्वचालित मार्गबाट बढीमा ५० करोड रुपैयाँसम्म मात्र लगानी गर्न पाइने व्यवस्था थियो। अब अधिकतम सीमा हटाइए पनि न्यूनतम लगानी सीमा भने २ करोड रुपैयाँ यथावत् राखिएको छ। सूचना प्रविधिमा आधारित उद्योगका हकमा न्यूनतम सीमा लागू नहुने व्यवस्था गरिएको छ।
गत माघ ८ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ अनुसार विभिन्न क्षेत्रका उद्योगलाई स्वचालित मार्गबाट सेवा दिने व्यवस्था लागू गरेको जनाएको छ। यसअघि २०८० साल असोज १५ गते प्रकाशित सम्बन्धित सूचना खारेज गरिएको छ।
सरकारका अनुसार यो कदमले उद्योग दर्ता प्रक्रिया सरल, छिटो र पारदर्शी बनाउनेछ । यसबाट विदेशी पुँजी र प्रविधि भित्र्याउन सहज वातावरण सिर्जना भई औद्योगिक विकास, रोजगारी सिर्जना तथा आर्थिक गतिविधि विस्तारमा टेवा पुग्ने अपेक्षा गरिएको छ।


