काठमाडौं । सरकारले १७ दुर्गम जिल्लामा ४८ हजार क्विन्टल बढी आयोडिनयुक्त नुन ढुवानी गरेको छ । चालु आर्थिक वर्षको छ महिनाको अवधमिा सरकारले १७ जिल्लाको ६१ वटा स्थानमा ४८ हजार ९८७ क्विन्टल आयोडिनयुक्त नुन ढुवानी गरेको छ ।
दुर्गम जिल्लाका नागरिकहरुलाई आयोडिनयुक्त नुन उपलब्ध गराउनु पर्ने जिम्मेवारी पुरा गर्ने क्रममा उक्त परिमाणमा नुन ढुवानी गरिएको उद्योग तथा वाणिज्य मन्त्रालयले जनाएको छ । २२ वटा दुर्गम जिल्लामा मध्ये छ महिनाको अवधिमा १७ वटा जिल्लाको ६१ वटा स्थानबाट आयोडिनयुक्त नुन उपलब्ध गराइएको मन्त्रालयका सहसचिव एवम प्रवक्ता नेत्रप्रसाद सुवेदीले जानकारी दिए । उनका अनुसार दुर्गमका नागरिकलाई आयोडिनयुक्त नुन उपलब्ध गराउनुपर्ने दायित्व अन्तर्गत उक्त काम गरिएको हो ।
साथै मन्त्रालयले सरकारद्धारा तोकिएको २६ वटा दुर्गम जिल्लामा समय मै खाद्यान्न ढुवानी समेत गरेको छ । छ महिनाको अवधिमा २६ वटा दुर्गम जिल्लामा ७ हजार १०६ दशमलव १६ मेट्रिक टन खाद्यन्न ढुवानी गरिएको हो । खाद्यान्न अभाव नहोस् भनि ढुवानी सम्झौता गरी मन्त्रालयले दुर्गम जिल्लमा खाद्यन्न उपलब्ध गराएको हो । नुन ढुवानीको जिम्मेवारी साल्ट टेडिङ र खाद्यान्न उपलब्ध गराउने जिम्मेवारी खाद्य संस्थाले लिने गरेको छ ।


