काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पछिल्लो समय तीन हजार भन्दा बढी कम्पनीहरु खारेजी गरेको बताएको छ । मन्त्रालयले चालु आर्थिक वर्षको छ महिनामा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएका तर सञ्चालनमा नरहेका ३ हजार ३ सय ५२ वटा कम्पनी खारेज गरिएको जनाएको छ ।
कम्पनी दर्ता मात्र गरी छाडेका तथा अलपत्र पारिएका विभिन्न वर्गका कम्पनीहरु उक्त संख्यामा खारेजी गरिएको हो । कम्पनीका सञ्चालकहरु विदेश गएको हुने, कतिपय विवादका कारण उपस्थित नभईदिने जस्ता समस्याका कारण साधारणसभा हुन नसकी बर्षौंसम्म कम्पनी दर्ता भएको हुने तर कामहरु नगरेका कम्पनीहरु खारेजी गरिएको हो ।
कम्पनी ऐनमा दर्ता भएका तर, काम नगरेका सबै कम्पनीहरु खारेज गर्ने सकिने व्यवस्था भए अनुरुप उक्त कम्पनीहरु खारेजी गरिएको मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुबेदीले जानकारी दिए । कम्पनी रजिष्ट्रारको कार्यालय (ओसीआर)ले कम्पनी खारेजीका लागि ‘विशेष दर्ता आरेज निर्देशिका २०८२’ जारी गरी सहजीकरण गरेको छ भने सोही निर्देशिकामा टेकर कार्यालयले कम्पनीहरु खारेज गर्दै आएको छ ।
त्यस्तै कम्पनी रजिष्ट्रार कार्यालयमा पछिल्लो समय अर्थात् चालु आर्थिक वर्षको छ महिनामा १६ हजार वटा कम्पनी दर्ता गरिएको छ । साना, मझौला र ठूला तथा विभिन्न प्रकृतिका गरी उक्त दर्ता गरिएको हो । साथै ३४ वटा ठूला, ३५ वटा मझौला र ७१२ वटा साना उद्योग सहित ७८१ वटा उद्योग दर्ता भएका छन् भने ती उद्योगहरुलाई १ खर्ब ३० अर्बको लगानी प्रस्ताव आएको छ । कार्यालयले पछिल्लो समय कम्पनीहरुको पुराना फाइलहरुको डिजिटाइशेनको काम भइरहेको जनाएको छ । सोही क्रममा डिजिटल सिग्नेचरमार्फत् १ लाख ८१ हजार ४१३ वटा पत्र जारी गरिएको छ । मन्त्रालयले कम्पनी रजिष्ट्रारको कार्यालयलाई डिजिटल बनाउनका लागि बजेट विनियोजन गरेको जनाएको छ ।


