CLI

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले : घुस खाने वा खुवाउने समय अब सकियो

काठमाडौं । पदभार ग्रहण गरेपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थ मन्त्रालय मातहतका निकायका कर्मचारीहरूसँग निर्देशनात्मक कार्यक्रम सम्पन्न गरेका छन् । कार्यक्रममा अर्थ सचिवले मन्त्रीलाई स्वागत गर्दै उनको नेतृत्वमा मन्त्रालयका कर्मचारीहरू पूर्ण रूपमा सहयोग गर्न तयार रहेको बताएका छन ।

स्वागत मन्तव्य दिँदै अर्थ सचिवले भने, “विद्वान मन्त्रीको योजनामा हामी हरतरहले सहयोग गर्छौं।” कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. वाग्लेले आफूहरू अर्थराजनीतिक रूपमा महत्वपूर्ण जनादेशसहित आएको उल्लेख गर्दै परम्परागत प्रक्रियाबाट मात्र काम नगरी आवश्यक सुधारका लागि ‘क्रमभंग’ गर्नुपर्ने बताएका छन्। “हामी नियमित प्रक्रियाबाट मात्रै चल्न आएका होइनौं, आवश्यक ठाउँमा परिवर्तन ल्याउन आएका हौं,” उनले भने।

उनले आफू कर्मचारीहरूलाई आलोचना वा गाली गर्न नभई सहकार्यका लागि आएको स्पष्ट पारे। “राजनीति गर्ने मान्छे असल भए कर्मचारीतन्त्र पनि सुधारिन्छ। माछा टाउकाबाट बिग्रिन्छ भन्ने उखान जस्तै, हामी ठीक भयौं भने तपाईंहरू पनि गलत गर्न सक्नुहुन्न,” उनले जोड दिए।

सुशासन र जनहितलाई प्राथमिकतामा राख्दै उनले राम्रो काम गर्ने कर्मचारीलाई पूर्ण साथ र प्रोत्साहन दिने प्रतिबद्धता जनाए । तर गलत बाटोमा जानेहरूलाई कुनै सहानुभूति नदिने चेतावनी पनि दिए। “राम्रो हुनुहुन्छ भने तपाईंहरू मेरा साथी हुनुहुन्छ, तर गलत काम गर्नेहरूलाई म माया गर्न सक्दिन,” उनले भने।

अर्थमन्त्री वाग्लेले आफू कुनै राजनीतिक पूर्वाग्रह नराख्ने र मेरिट तथा इमान्दारीतालाई मात्र प्राथमिकता दिने बताए। उनले कर्मचारीहरूलाई पुराना दलगत प्रभावबाट मुक्त भएर काम गर्न आग्रह गरे।

उनले जनताको हितमा पर्ने विभिन्न निर्णयहरू चाँडै कार्यान्वयन गरिने जानकारी दिँदै लोकसेवा पास गर्दा लेखिएको राष्ट्र निर्माणसम्बन्धी निबन्ध सम्झन कर्मचारीहरूलाई आग्रह गरे।

भ्रष्टाचारप्रति कडा रूपमा प्रस्तुत हुँदै उनले अब घुसखोरीको समय सकिएको घोषणा गरे। “कुनै पनि तरिकाले घुस खाने वा खुवाउने समय अब समाप्त भयो,” उनले स्पष्ट पारे।

अर्थतन्त्रलाई पुनःसंरचना गर्दै सही मार्गमा ल्याउने प्रतिबद्धता जनाउँदै उनले वर्तमान सरकार जनताको ठूलो जनादेशका आधारमा सुधारका लागि आएको बताए। आगामी बजेटमार्फत आर्थिक शासन प्रणालीमा रूपान्तरण ल्याइने पनि उनले उल्लेख गरे।

सुशासन, आर्थिक रूपान्तरण, दीर्घकालीन योजना तथा रूपान्तरणकारी आयोजनाहरूलाई प्राथमिकतामा राखिने बताउँदै उनले डायस्पोरालाई नेपाली अर्थतन्त्रसँग जोड्ने योजना पनि अघि सारे। “एक पटकका नेपाली सधैंका नेपाली भन्ने अवधारणासहित उहाँहरूको लगानी र सम्पत्तिको सुरक्षा गरिनेछ,” उनले भने।

Leave Your Comment

Related News