मोरङ। नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको समग्र विकास एवं रोजगारी सिर्जनामा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताएको छ ।
महासङ्घ कोशी प्रदेशको आठौँ प्रदेशसभा तथा निर्वाचन कार्यक्रम–२०८२ को आज विराटनगरमा उद्घाटन गर्दै उनले प्राकृतिक स्रोत, कृषि, पर्यटन र उद्योग क्षेत्रमा सरकारको सहयोगमा स्थानीय स्रोतसाधानको अधिकतम उपयोग गरी मुलुकमा आर्थिक समृद्धि ल्याउनुपर्नेमा जोड दिए ।
अध्यक्ष ढकालले मुलुकमा ८६ प्रतिशत रोजगारी सिर्जना गरेको निजी क्षेत्रप्रति वर्तमान सरकारको दृष्टिकोणमा परिवर्तन भएको जानकारी गराए । कोशी प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौलाले निजी क्षेत्रमैत्री कानुन निर्माण गरी मुलुकको अर्थतन्त्र चलायमान बनाउनुपर्ने सुझाव दिए ।
महासङ्घका कोशी प्रदेश अध्यक्ष राजेन्द्रबहादुर राउतले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिँदै प्रदेशमा कृषि, जलविद्युत् र पर्यटन क्षेत्रमा अपार सम्भावना रहेकाले यसमा लगानी गर्न उद्योगी एवं व्यवसायीलाई आग्रह गरे ।
महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ, लुम्बिनी अध्यक्ष कृष्ण शर्मा, हेमराज ढकाललगायतले सरकारले व्यावसायिक वातावरण निर्माण गरेमा विदेशी तथा स्वदेशी लगानी भित्र्याउन सहज हुने धारणा राखे । महासङ्घ कोशीका लागि आज हुने निर्वाचनमा वर्तमान अध्यक्ष राउत र नवीन रिजालबीच प्रतिस्पर्धा हुँदैछ ।


