CLI

अर्थमन्त्री वाग्लले ब्रोकरहरुलाई भने-पुँजी बजारलाई लिएर सरकार अत्यन्तै सकारात्मक छ लगानीकर्ता आत्तिनु पर्दैन

काठमाडौं । स्टक ब्रोकर एसोसिएसन अफ नेपालका महासचिव भक्तिराम घिमिरे नेतृत्वको टोलीले सोमबार अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेट गरी पुँजी बजारको समसामयिक अवस्थाबारे छलफल गरेको छ । भेटमा पछिल्लो समय सेयर बजारमा आएको गिरावट, लगानीकर्तामा देखिएको डर र समग्र बजारको नाजुक अवस्थाबारे व्यवसायीहरूले ध्यानाकर्षण गराएका थिए ।

ब्रोकरहरूको टोलीले सरकार परिवर्तनसँगै बजारमा ठूलो अपेक्षा गरिएको भए पनि बजार निरन्तर घट्दै गएको उल्लेख गर्दै हालसम्म करिब ३०० अंकको गिरावट आइसकेको जानकारी गराएको थियो। उनीहरूले बजारलाई स्थिर बनाउन सरकारको स्पष्ट धारणा र सम्बोधन आवश्यक रहेको बताएका थिए।

जवाफमा अर्थमन्त्री वाग्लेले सरकारको निजी क्षेत्रलाई कमजोर बनाउने कुनै आशय नरहेको स्पष्ट पारे। उनले सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित मुद्दाहरू विगत चार वर्षदेखि चलिरहेको सन्दर्भमा अहिलेको अवस्था संयोगवश मिल्न जाँदा व्यवसायीहरूमा त्रास उत्पन्न भएको बताए । धेरैलाई समात्ने होइन, सीमित व्यक्तिमाथि मात्र कारबाही भएको उल्लेख गर्दै उनले व्यवसायीलाई अनावश्यक रूपमा त्रसित नहुन आग्रह गरे।

उनले सरकार वित्तीय अनुशासनमा केन्द्रित रहेको र व्यवसायीमाथि धरपकड गर्ने नीति नरहेको स्पष्ट पार्दै आगामी बजेटमा पुँजी बजारसँग सम्बन्धित महत्वपूर्ण विषयहरू समेटिने जानकारी दिए। देशको अर्थतन्त्र चलायमान बनाउन पुँजी बजार पनि सक्रिय हुन आवश्यक रहेको उनको भनाइ थियो।

अर्थमन्त्री वाग्लेले साना लगानीकर्तालाई हालको अवस्थामा आत्तिएर शेयर बिक्री नगर्न आग्रह गर्दै बजारप्रति सरकार अत्यन्तै सकारात्मक रहेको सन्देश दिएका छन् । आवश्यक परेमा सरकार, नियामक निकाय र सरोकारवालासँग छलफल गरी संस्थागत रूपमा समाधान खोजिने पनि उनले बताए।

भेटका क्रममा ब्रोकरहरूले पाँच बुँदे मागसमेत प्रस्तुत गरेका थिए। जसमा बैंक तथा वित्तीय संस्थालाई शेयर कारोबारमा लगाइएको सीमा खारेज गर्नुपर्ने, पुँजीगत लाभकर अन्तिम कि अग्रिम भन्ने विषय स्पष्ट पार्नुपर्ने, गैरआवासीय नेपालीलाई सहज रूपमा शेयर कारोबार गर्न दिनुपर्ने, अक्सन मार्केटसम्बन्धी व्यवस्था सुधार गर्नुपर्ने र सेटलमेन्ट ग्यारेन्टी फन्डको प्रभावकारी उपयोग गर्न निर्देशन दिनुपर्ने माग समावेश छन्।

अर्थमन्त्री वाग्लेले नेपाली पुँजी बजारप्रति सरकार उदार रहेको दाबी गर्दै बजारमा देखिएको ‘प्यानिक सेल’ अवस्थालाई नियन्त्रण गर्न आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका छन्। साथै, आवश्यक परे पत्रकार सम्मेलनमार्फत सरकारको धारणा सार्वजनिक गर्ने तयारीसमेत भइरहेको उनले संकेत दिएका छन्।

 

Leave Your Comment

Related News