CLI

समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रियसभाका सांसदहरूले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । सभाको आजको बैठकमा दलीय आधारमा बोल्दै सांसद जगत तिमिल्सिनाले वैज्ञानिक अनुसन्धान, नवप्रवर्द्धनमा राष्ट्रियसभाले महत्त्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए । उनले भने, “भ्रष्टाचार नियन्त्रण राष्ट्रिय मुद्दाको रूपमा अगाडि बढाउन यो सभाले महत्त्वपूर्ण भूमिका खेलोस्, सबै सार्वजनिक निकायमा भ्रष्टाचारको निगरानी बढाएर अनुगमन र जवाफदेही प्रक्रिया लागू गर्न पनि यो सभाले भूमिका निर्वाह गर्नुपर्छ ।”

सांसद धर्मेन्द्र पासवानले प्रतिनिधिसभामा दलित र मधेसी समुदायको प्रतिनिधित्व कमजोर बन्दै गएको भन्दै प्रतिनिधित्व बढाउनुपर्नेमा जोड दिए । सांसद प्रेमप्रसाद दङ्गालले भन्नुभयो, “हाम्रो मुलुकलाई बहुधार्मिक र भौगोलिक विविधताका बीच सबै प्रकारका विभेद् अन्त्य गर्दै एकताबद्ध राख्नुपर्ने छ, विधिताबीच एकताबीच आउनुपर्ने छ ।”

सांसद मीना सिंह रखालले कर्णाली प्रदेश प्राकृतिक रूपमा धनी भए पनि विकास र आधारभूत सूचकमा सबैभन्दा पछाडि परेको उल्लेख गर्दै कर्णालीलाई राज्यले प्राथमिकताका साथ विकासमा जोड दिनुपर्ने बताए । कर्णालीमा गरिबी दर करिब ३० प्रतिशत रहेको उहाँको भनाइ छ ।

सांसद रेखाकुमारी झाले सबैभन्दा बढी मधेस प्रदेशमा महिला हिंसाका घटना हुने गरेको उल्लेख गर्दै त्यसको अन्त्यका लागि सरकारले मधेसी केन्द्रित विशेष कार्यक्रम ल्याउनुपर्ने धारणा राखे । सांसद रोशनी मेचेले राष्ट्रियसभालाई समावेशी बहसको थलोका रूपमा पनि विकास गर्नुपर्ने धारणा राखे ।

सांसद लिलाकुमारी भण्डारीले मध्यपूर्वमा भएको युद्धका कारण वैदेशिक रोजगारीमा रहेका नेपालीले भोग्नुपरेका समस्या समाधानका लागि सरकारसँग आग्रह गरेका छन् । सांसद सुनिलबहादुर थापाले नेपालको आर्थिक क्षेत्रलाई अगाडि बढाउन सरकारले नयाँ कानुन निर्माणमा ढिलाइ गर्न नहुनेमा जोड दिए । सांसदहरू वासुदेव घिमिरे, सम्झना देवकोटा र सोमनाथ पोर्तेलले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएको थियो ।

Leave Your Comment

Related News