CLI

अर्थतन्त्र ४.०५ प्रतिशतले बढ्ने प्रक्षेपण, ऊर्जा र वित्तीय क्षेत्र मुख्य चालक

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा नेपालको अर्थतन्त्र ४.०५ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार यो वृद्धि ऊर्जा, वित्तीय सेवा, व्यापार तथा पर्यटनलगायत क्षेत्रको विस्तारका कारण हुने देखिएको हो।

विद्युत उत्पादन तथा वितरण, निक्षेप संकलन तथा ऋण प्रवाह, निर्जीवन बिमा प्रिमियम, पशुजन्य उत्पादन, फलफूल तथा तरकारी उत्पादन तथा पर्यटन आगमनमा भएको वृद्धिले अर्थतन्त्रलाई टेवा दिएको छ।

समग्रमा १८ वटै औद्योगिक क्षेत्रमा सकारात्मक वृद्धिदर रहने अनुमान गरिएको छ। तर निर्माण सामग्री आयातमा कमी, धान उत्पादनमा गिरावट तथा केही घरेलु उत्पादनमा आएको सुस्तताका कारण समग्र वृद्धि मध्यम रहने देखिएको छ।

क्षेत्रगत रूपमा विद्युत तथा ग्यास क्षेत्रमा सबैभन्दा उच्च २२.७४ प्रतिशत वृद्धि हुने अनुमान छ। त्यसपछि वित्तीय तथा बीमा क्षेत्र १२.५१ प्रतिशत, यातायात तथा भण्डारण ९.६५ प्रतिशत र होटल तथा खाद्य सेवा ५.१८ प्रतिशतले बढ्ने देखिएको छ।

अर्थतन्त्रको सबैभन्दा ठूलो हिस्सा ओगट्ने कृषि क्षेत्र भने २.२१ प्रतिशतले मात्र बढ्ने प्रक्षेपण गरिएको छ। धान उत्पादनमा कमी आए पनि तरकारी, फलफूल तथा वनजन्य उत्पादनले यस क्षेत्रमा केही सुधार ल्याउने अपेक्षा गरिएको छ।

त्यसैगरी थोक तथा खुद्रा व्यापार क्षेत्र ४.११ प्रतिशतले विस्तार हुने अनुमान गरिएको छ। मौसमी समायोजनका आधारमा भने पहिलो त्रैमासको तुलनामा दोस्रो त्रैमासमा अर्थतन्त्र २.०४ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको छ, जहाँ १८ मध्ये १६ क्षेत्रमा वृद्धि र २ क्षेत्रमा सामान्य संकुचन देखिने अनुमान छ।

Leave Your Comment

Related News