काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ब्रोकर नम्बर ५५, भृकुटी स्टक ब्रोकिङ कम्पनीलाई ३ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको छ । धितोपत्र बजारमा नियम उल्लंघन गरेको ठहर गर्दै सेबोनले कम्पनीलाई निलम्बन गर्ने निर्णय गरेको हो।
यद्दपि, बोर्डले कारबाहीको निर्णय गरे पनि यस कम्पनी मार्फत मंगलबार समेत सेयर कारोबार भएपछि बजारमा थप जिज्ञासा र चासो देखिएको छ । निलम्बनको निर्णय भइसकेपछि पनि मंगलबार ब्रोकर नम्बर ५५ मार्फत ६ करोड ३६ लाख ६९ हजार रुपैयाँ बराबरको सेयर खरिद र ८ करोड ७ लाख रुपैयाँ बराबरको बिक्री भएको देखिएको छ।
धितोपत्र बोर्डका एक अधिकारीका अनुसार हाल निर्णय कार्यान्वयनको प्रक्रियामा रहेको र सम्बन्धित निकायमा आधिकारिक सूचना पुग्ने चरणमा रहेकाले यस्तो अवस्था देखिएको हो । उनले आगामी दिनमा कारोबार पूर्ण रूपमा रोकिने संकेत पनि गरेका छन्।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कुनै पनि ब्रोकरको कारोबार रोक्नका लागि धितोपत्र बोर्डबाट आधिकारिक पत्र प्राप्त हुनु आवश्यक हुन्छ। सो पत्र प्राप्त नभएसम्म नेप्सेले ब्रोकरको ट्रेडिङ आईडी बन्द गर्दैन । त्यसैले बोर्डको निर्णय तत्काल कार्यान्वयनमा नआउँदा बीचमा कारोबार जारी रहन पुगेको हो।
तर नियामक निकायका अधिकारीहरूले भने कारबाहीको निर्णय भइसकेको पुष्टि गरेका छन्।
निलम्बन कार्यान्वयनमा आएपछि सबैभन्दा ठूलो असर लगानीकर्तामाथि पर्ने देखिएको छ । ब्रोकरमार्फत हुने कारोबार रोकिँदा उनीहरूको सेयर किनबेच प्रक्रिया अवरुद्ध हुनेछ भने खातामा रहेको रकम तथा सेयर अस्थायी रूपमा रोक्का (बन्धक) हुन सक्छ।
भृकुटी स्टकमा डिम्याट (डीपी) सहित ७९ हजार ७१७ लगानीकर्ताको खाता रहेको छ, जसका कारण यति ठूलो संख्यामा रहेका लगानीकर्ता प्रत्यक्ष रूपमा प्रभावित हुने देखिएको छ । निलम्बन लागू भएपछि ती लगानीकर्ताहरूले सो ब्रोकरमार्फत सेयर किनबेच गर्न नपाउने अवस्था सिर्जना हुनेछ । यस्तो अवस्थामा लगानीकर्ताहरूले वैकल्पिक रूपमा अन्य ब्रोकर कम्पनीमार्फत कारोबार गर्नुपर्ने अवस्था आउन सक्ने देखिएको छ।
उता, भृकुटी स्टक ब्रोकिङ कम्पनीले भने आफ्नो निलम्बन सम्बन्धी समाचारको खण्डन गर्दै हालसम्म कुनै आधिकारिक पत्र प्राप्त नभएको दाबी गरेको छ। कम्पनीले सार्वजनिक सूचना जारी गर्दै नियामक निकायबाट औपचारिक जानकारी नआएसम्म आफूहरू नियमित रूपमा सञ्चालनमै रहेको जनाएको छ।
यही कारणले लगानीकर्ताहरूले दीर्घकालीन समाधानको माग पनि उठाउन थालेका छन्। उनीहरूका अनुसार एउटै ब्रोकरमा मात्र निर्भर रहनुपर्ने वर्तमान व्यवस्था जोखिमपूर्ण छ । यदि कुनै ब्रोकर कारबाहीमा परेमा लगानीकर्ताको सम्पूर्ण कारोबार रोकिने अवस्था आउँछ। त्यसैले एउटाभन्दा बढी ब्रोकरमा खाता खोल्न पाउने व्यवस्था हुनुपर्ने उनीहरूको माग छ।
विशेषज्ञहरूका अनुसार पनि यस्तो घटनाले धितोपत्र बजारको संरचनागत कमजोरी उजागर गरेको छ। लगानीकर्ताको हित संरक्षण गर्न नियामकले स्पष्ट र छिटो कार्यान्वयन हुने प्रणाली विकास गर्नुपर्ने आवश्यकता देखिएको छ । साथै, ब्रोकरहरूमाथि निगरानी कडा पार्नुका साथै लगानीकर्तालाई वैकल्पिक पहुँच सुनिश्चित गर्नुपर्ने माग बलियो बन्दै गएको छ।


