काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) र टाइम फर्मास्युटिकल्स लिमिटेडबीच शिलबन्दी बोलपत्र (बुक बिल्डिङ्ग) प्रक्रिया सञ्चालनका लागि सम्झौता सम्पन्न भएको छ। उक्त सम्झौताले कम्पनीलाई पूँजी बजारमार्फत साधारण शेयर निष्कासनको प्रक्रिया अघि बढाउन मार्ग प्रशस्त गरेको छ।
सम्झौताअनुसार टाइम फर्मास्युटिकल्सले प्रति शेयर रु। १०० अंकित मूल्यका ४,३४,६०० कित्ता शेयर योग्य संस्थागत लगानीकर्ताका लागि बुक बिल्डिङ्ग विधिबाट निष्कासन गर्नेछ। यो प्रक्रिया नेपाल धितोपत्र बोर्डको स्वीकृति तथा बुक बिल्डिङ्ग निर्देशिका, २०७७ अनुसार सञ्चालन हुनेछ।
कार्यक्रममा नेप्सेको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चुडामणि चापागाईं र टाइम फर्मास्युटिकल्सका प्रबन्ध सञ्चालक सुदर्शन लाल श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरेका छन्। साथै कम्पनीका प्रतिनिधि तथा शेयर बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङका अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।
कम्पनीले कुल १० लाख ८६ हजार ५०० कित्ता शेयर निष्कासन गर्ने तयारी गरेको छ, जसको कुल आकार रु। १० करोड ८६ लाख ५० हजार बराबर हुनेछ। यसमध्ये ४० प्रतिशत शेयर योग्य संस्थागत लगानीकर्तालाई र बाँकी ६० प्रतिशत सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गरिने जनाइएको छ।
शेयर निष्कासनपछि कम्पनीको चुक्ता पूँजी ५३ करोड पुग्नेछ। तीन दशकदेखि सञ्चालनमा रहेको टाइम फर्मास्युटिकल्सले नवलपरासीको गैँडाकोटमा उत्पादन प्लान्ट र ललितपुरमा मार्केटिङ कार्यालयमार्फत २०० भन्दा बढी औषधि उत्पादन गर्दै आएको छ। कम्पनीले करिब ३०० जनालाई प्रत्यक्ष रोजगारी दिएको जनाएको छ।


