CLI

यूनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद सेयर निष्काशन तथा बिक्री खुल्ला

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले आज (चैत २६ गते) देखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्दैछ । इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले हाल कायम १०० कित्ता सेयर बराबर नयाँ १० कित्ता अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो । यस अनुसार इन्स्योरेन्सले २३ करोड १० लाख रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका २३ लाख १० हजार कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ इन्स्योरेन्सले फागुन १७ गते बुकक्लोज गरेको थियो । यस अनुसार फागुन १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन् । इन्स्योरेन्सको हकप्रद शेयरमा २०८३ बैशाख १६ गतेसम्म आवेदन दिन सकिनेछ ।

हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले इन्स्योरेन्सलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता मध्यम मात्रामा सुरक्षित रहेको संकेत गर्दछ । इन्स्योरेन्सको सेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ । सेयरधनीहरुले बिक्री प्रबन्धकका साथै लक्ष्मी सनराइज बैंकका तोकिएका शाखा कार्यालय र नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट र सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि आस्वा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन् ।

हाल इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब ३१ करोड रुपैयाँ रहेको छ । हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब ५४ करोड १० लाख रुपैयाँ पुग्नेछ ।

Leave Your Comment

Related News