काठमाडौं । अमेरिका र इरानबीचको कूटनीतिक सम्बन्ध अत्यन्तै तनावपूर्ण रहेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कडा चेतावनी दिएका छन् । उनले Truth Social मा पोष्ट गर्दै भने “यदि तेहरानले सम्झौताका सर्तहरू पालना गरेन भने अमेरिकी सेना, जहाज, विमान र अतिरिक्त हतियारहरू इरान वरिपरि रहिरहने छन् र आवश्यक परेमा पूर्ण सैन्य कारबाही पुनः सुरु हुनेछ । ट्रम्पले यस यद्धविरामलाई इरानको परमाणु हतियार निषेध र हर्मुज स्ट्रेट पुनः खुला र सुरक्षित हुनु आवश्यक” सर्तसँग जोडेर स्पष्ट पारेका छन् ।
अमेरिका र इरानबीच दुई हप्ता लामो अस्थायी युद्धविरामको घोषणा भएको थियो। यो विराम इरानले हर्मुज स्ट्रेट खोल्ने र वार्ताको प्रक्रिया अघि बढाउने शर्तमा आधारित थियो । तर, हालको अवस्था देखाउँछ कि यो शान्ति प्रयास अस्थिर छ। लेबननमा लागू हुने सर्तको व्याख्यामा दुवै पक्षबीच मतभेद देखिएको छ। इरान र उसका सहयोगीहरूले युद्धविराम सबै क्षेत्रमा लागू हुनु पर्ने तर्क राखेका छन्, जबकि अमेरिका र इजरायलले यो व्याख्या अस्वीकार गरेका छन्।
इरान सरकारले अमेरिकी पक्षमाथि प्रारम्भिक उल्लंघनको आरोप पनि लगाएको छ । इरानका अनुसार १० बुँदे प्रस्तावका तीन प्रमुख धाराहरू अमेरिकी पक्षले उल्लङ्घन गरेको छ । यसमा लेबननमा तत्काल युद्धविरामको उल्लङ्घन, इरानको हवाई क्षेत्रमा अनाधिकृत ड्रोन प्रवेश, र यूरेनियम संवर्धन अधिकारको अस्वीकार समावेश छन्। यी उल्लङ्घनहरू वार्ता सुरु हुनु अघि नै भएको बताइएको छ, जसले द्विपक्षीय युद्धविराम वा वार्ता कठिन बनाएको छ।
अमेरिकाको दबाब पनि लगातार बढ्दो छ । ट्रम्पले इरानलाई हतियार आपूर्ति गर्ने देशहरूमा ५० प्रतिशत शूल्क लगाउने घोषणा गरेका छन् । त्यसैबीच, हिज्बुल्लाह र इजरायली सेनाबीच मिसाइल आक्रमन जारी छ, जसले युद्धविरामको प्रभावलाई कमजोर पार्ने खतरा बढाएको छ ।
यस परिस्थितिले अमेरिका–इरान सम्बन्ध अहिले अत्यन्तै संवेदनशील र अस्थिर रहेको देखाएको छ । ट्रम्पको कडा चेतावनी र इरानको प्रारम्भिक उल्लंघनको आरोपले शान्ति प्रयासमा चुनौती प्रस्तुत गरेको छ। यसबीच पाकिस्तानले मध्यस्थको भूमिका खेलेर वार्ता जीवित राख्ने प्रयास गरिरहेको छ ।


