CLI

सभामुख अर्यालद्वारा बुढीगण्डकी जलविद्युत आयोजनामा गति दिन आग्रह

काठमाडौं । सभामुख डोल प्रसाद (डीपी) अर्यालले बुढीगण्डकी जलविद्युत आयोजना निर्माणमा चासो देखाउँदै त्यसलाई निश्चित समयसीमा भित्र अगाडि बढाउन जोड दिएका छन् ।

उनले बिहीबार आफ्नै कार्यकक्षमा ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ र आयोजनाका प्रमुख कार्यकारी अधिकृत अरुण रजौरियासँग छलफल गर्दै भने, “यो राष्ट्रिय गौरवको परियोजना हो। यो केवल विद्युत् उत्पादनसँग मात्र सम्बन्धित छैन, पर्यटन, कृषि उत्पादनको बजारिकरण र रोजगारी प्रवद्र्धनसँग पनि प्रत्यक्ष जोडिएको छ। त्यसैले अब यसको निर्माण कार्यमा थप ढिलाइ हुनु हुँदैन।”

सभामुख अर्यालले आयोजनालाई पहिलो प्राथमिकतामा राखेर स्पष्ट कार्यतालिका बनाइ, कुन मितिमा काम सुरु गर्ने र कहिले सम्पन्न गर्ने निर्धारण गरी अघि बढाउन आयोजनाका प्रमुखलाई आग्रह गरे ।

छलफलमा ऊर्जामन्त्री श्रेष्ठले आयोजनाको निर्माणलाई तीव्रता दिन सरकार तर्फबाट आवश्यक सहयोग दिने प्रतिबद्धता व्यक्त गर्दै भने, “सरकारी समस्या कहाँ छ भन्ने स्पष्ट पार्नुहोस्, हामी आवश्यक समन्वय गर्नेछौं।” मन्त्रालयका सहसचिव रुद्रसिङ तमाङले पनि आयोजना अघि बढाउन कुनै कसर बाँकी नराख्ने बताए ।

सांसद बोधनारायण श्रेष्ठले ठूला आयोजना निर्माणलाई प्राथमिकतामा राख्दा सरकारको समृद्धि प्रतिको गम्भीरता स्पष्ट भएको धारणा राखे । बुढीगण्डकी जलविद्युत आयोजना १२ सय मेगावाट क्षमताको जलायशयुक्त आयोजना हो र गोरखा–धादिङको सिमानामा पर्ने यस आयोजनाको अनुमानित लागत ३ खर्ब ७४ अर्ब रुपैयाँबराबर छ ।

Leave Your Comment

Related News