CLI

हुम्लामा विद्युत् सेवा अवरुद्ध

सिमकोट । हुम्ला सदरमुकाम सिमकोटसहित दुई गाउँपालिकामा विद्युत् सेवा अवरुद्ध भएको छ । विद्युत् सेवा अवरुद्ध भएपछि सिमकोटसहित ती दुवै गाउँपालिका अन्धकारमय बनेका छन् ।

हेल्दुङ वितरण केन्द्रमा प्राविधिक समस्या देखिएपछि विद्युत् सेवा बन्द भएको छ । आयोजनाको मुख्य नियन्त्रण प्रणालीमा खराबी आएपछि यस वितरण केन्द्रबाट आपूर्ति हुँदै आएको सम्पूर्ण विद्युत् सेवा बन्द गरिएको वितरण केन्द्रका प्रमुख जितेन्द्र शाहले बताए ।

समस्याका कारण विद्युत् उत्पादन तथा आपूर्ति प्रणाली प्रभावित भएको हो । समस्या समाधानका लागि प्राविधिक टोली परिचालन गरिएको र मर्मतकार्य सम्पन्न नभएसम्म विद्युत् सेवा सञ्चालन गर्न नसकिने अवस्था रहेको प्रमुख शाहको भनाइ छ ।

यस केन्द्रबाट विद्युत् सेवा लिइरहेका विभिन्न गाउँ तथा बस्तीका उपभोक्ता प्रत्यक्ष प्रभावित हुने भएका छन् । विशेषगरी रातिको समयमा विद्युत् सेवा बन्द हुँदा सञ्चार, इन्टरनेट, खानेपानी, साना उद्योग व्यवसाय तथा दैनिक जनजीवनमा असर पर्ने देखिएको छ ।

वितरण केन्द्रले उपभोक्तालाई आवश्यक पूर्वतयारी गर्न आग्रह गर्दै विद्युत् उपकरण सुरक्षित रूपमा प्रयोग गर्न अनुरोध गरेको छ । विद्युत् सेवा बन्द हुँदा सिमकोट र खार्पुनाथका करिब दुई हजार ५ सय उपभोक्ता अन्धकारमा बस्न बाध्य भएका छन् ।

Leave Your Comment

Related News