काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले लामो अनुभव, क्षमता र सीप भएका कर्मचारीहरूबाट कार्यक्षेत्रभन्दा बाहिरका विषयमा समेत रचनात्मक सुझावको अपेक्षा गरेको बताएका छन् ।
विद्युत विकास विभाग र विद्युत नियमन आयोगका कर्मचारीहरूसँगको छलफलमा मन्त्री श्रेष्ठले ऊर्जा तथा जलस्रोत क्षेत्रको दीर्घकालीन विकासका लागि मन्त्रालयले अघि बढाएको जलस्रोत, नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयकबारे सुझाव दिन आग्रह गरे ।
उनले उत्पादित विद्युत खेर जान नदिन तथा जनताको लगानी सुरक्षित गर्न सरकारले आगामी आर्थिक वर्षभित्र नेपाल विद्युत प्राधिकरण र राष्ट्रिय प्रसारण ग्रिड कम्पनीमार्फत एक दर्जनभन्दा बढी रणनीतिक महत्वका प्रसारण लाइन निर्माणलाई प्राथमिकतामा राखेको जानकारी दिए ।
मन्त्री श्रेष्ठले विद्युत उत्पादन तीव्र रूपमा बढिरहेको भए पनि खपत विस्तार हुन नसके मुलुक भविष्यमा ऋणको जोखिममा पर्न सक्ने चेतावनी दिएका छन् । उनले अब विद्युत खपत विस्तार र प्रसारण पूर्वाधार विकासलाई पनि प्राथमिकतामा राख्नुपर्नेमा पनि जोड दिए ।
उनले जलविद्युत आयोजनाको विकासमा नयाँ मोडालिटी अपनाएर अन्य निकायसँग सहकार्य गर्नुपर्ने आवश्यकता औंल्याउँदै विश्वव्यापी परिवर्तनका कारण नेपालको ऊर्जा आवश्यकता र प्राथमिकताबारे नयाँ ढंगले सोच्नुपर्ने अवस्था आएको बताए ।
विद्युत उत्पादन अनुमतिपत्र (लाइसेन्स) वितरणमा विभाग थप गम्भीर हुनुपर्ने उल्लेख गर्दै मन्त्री श्रेष्ठले लगानीकर्ताको लगानी सुरक्षित रहने तथा सरकारका नीति र निर्णयमाथि प्रश्न नउठ्ने गरी काम गर्न निर्देशन दिए ।
उनले विभागले लाइसेन्स जारी गर्ने मात्र नभई परियोजनाको गुणस्तर, उपकरण तथा भौतिक पूर्वाधारको अवस्थाबारे नियमित अनुगमन गर्नुपर्ने आवश्यकता औंल्याए । केही वर्षपछि सरकारको स्वामित्वमा आउने आयोजनाहरू मापदण्डअनुसार सञ्चालन हुने सुनिश्चित गर्न मन्त्रालयले गृहकार्य गरिरहेको पनि उनले जानकारी दिए ।
मन्त्री श्रेष्ठले आफूले क्षणिक लोकप्रियताभन्दा सुशासन र शासकीय सुधारलाई प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्दै उत्कृष्ट कार्यसम्पादनका आधारमा कर्मचारीलाई जिम्मेवारी र अवसर प्रदान गरिने स्पष्ट पारेका हुन् ।
यसैबीच, विद्युत नियमन आयोगमा पदाधिकारी रिक्त हुँदा नियमित काम कारबाहीमा परेको प्रभावबारे जानकारी लिँदै उनले आयोगमा पदाधिकारी नियुक्तिको प्रक्रिया अगाडि बढिसकेको र केही दिनमै आयोगले पूर्णता पाउने विश्वास व्यक्त गरे ।


