CLI

बजेट २०८३/८४ : एक हजार किलोमिटर सडक कालोपत्र तथा २७५ वटा सडक पुल निर्माणको लक्ष्य

काठमाडौं । आगामी आर्थिक वर्ष करिब एक हजार किलोमिटर सडक कालोपत्र तथा २७५ वटा सडक पुल निर्माण गरिने लक्ष्य लिइएको छ । आज आगामी आव २०८३/८४ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले एक हजार २८ किलोमिटर लामो पूर्वपश्चिम राजमार्गलाई चार लेनमा स्तरोन्नति गर्ने कार्य पाँच वर्षभित्र सम्पन्न गरिनेछ । यसै वर्ष कमला–कञ्चनपुर तथा नारायणगढ–बुटवल सडकखण्ड स्तरोन्नतिको कार्य सम्पन्न हुने अर्थमन्त्रीको भनाइ छ ।

उनका अनुसार आगामी वर्ष काँकरभिट्टा–लौकही, कमला–बागमती, बुटवल–गोरुसिङ्गे तथा धानखोला–लमही खण्डअन्तर्गत ८० किलोमिटर सडक स्तरोन्नति गरिनेछ । बागमती–पथलैया, नारायणगढ–हेटौँडा तथा गोरुसिङ्गे–चन्द्रौटा खण्डको स्तरोन्नति सुरु गरिनेछ । पोखरिया–कञ्चनपुर, चन्द्रौटा–धानखोला तथा कोहलपुर–गड्डाचौकी सडकखण्ड स्तरोन्नतिको अध्ययन सम्पन्न गरिने बजेट वक्तव्यमा उल्लेख छ । पूर्वपश्चिम राजमार्गका लागि रु ३७ अर्ब ४६ करोड विनियोजन गरिएको छ ।

त्यसैगरी, काठमाडौँ–तराई–मधेस द्रुतमार्गमा आगामी वर्ष ४० वटा पुल तथा ५.४ किलोमिटर सुरुङ निर्माण सम्पन्न गरिने अर्थमन्त्री डा वाग्लेले उल्लेख गरेका छन् । द्रुतमार्गको लिङ्क रोड निर्माणसमेत सुरु गरिने बजेट वक्तव्यमा उल्लेख गरिएको छ । “यस आयोजनाका लागि रु १७ अर्ब ६४ करोड विनियोजन गरिएको छ । हुलाकी राजमार्ग आगामी तीन वर्षभित्र सम्पन्न गरिनेछ । यसअन्तर्गत घना बस्ती भएका क्षेत्रमा राजमार्ग चौडा गर्ने कार्य सुरु गरिनेछ तथा आठवटा सडक पुल निर्माण सम्पन्न गरिनेछ । हुलाकी राजमार्गका लागि रु चार अर्ब ६५ करोड विनियोजन गरिएको छ”, मन्त्री डा वाग्लेले भने, “कर्णाली राजमार्गअन्तर्गत सुर्खेत–जुम्ला–गमगढी सडक स्तरोन्नतिका लागि रु एक अर्ब विनियोजन गरिएको छ । पुष्पलाल मध्यपहाडी राजमार्ग आगामी तीन वर्षभित्र सम्पन्न गरिनेछ । यसअन्तर्गत ६५ किलोमिटर सडक स्तरोन्नति तथा पाँचवटा पुल निर्माण सम्पन्न गर्न रु दुई अर्ब १६ करोड विनियोजन गरिएको छ ।”

उनका अनुसार मदन भण्डारी राजमार्गअन्तर्गत २५ किलोमिटर सडक कालोपत्र तथा पुल निर्माणका लागि रु एक अर्ब ४६ करोड विनियोजन गरिएको छ । आगामी तीन वर्षभित्र मुख्य राजमार्ग तथा रणनीतिक सडकमा निर्माणाधीन पुल सम्पन्न गरिने अर्थमन्त्रीले उल्लेख गरे । उनका अनुसार राष्ट्रिय राजमार्गमा पर्ने ४० वटा ठूला पुल निर्माण तथा स्तरोन्नति गरिनेछ । राष्ट्रिय राजमार्ग, रणनीतिक सडक पुल तथा स्थानीय सडक पुलका लागि रु नौ अर्ब ८७ करोड विनियोजन गरिएको मन्त्री वाग्लेको भनाइ छ ।

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आबुखैरेनीदेखि पोखरासम्म चार लेन सडक निर्माण शीघ्र सम्पन्न गरिनेछ । मुग्लिन–आबुखैरेनी खण्डको निर्माण सुरु गरिनेछ । नागढुङ्गा–मुग्लिन खण्डअन्तर्गत ४० किलोमिटर सडक स्तरोन्नति गरिने मन्त्री वाग्लेले बताए ।

“नागढुङ्गा सुरुङमार्ग आगामी साउनदेखि सञ्चालनमा ल्याइनेछ । यी सडकखण्डका लागि रु छ अर्ब ५५ करोड विनियोजन गरिएको छ । कर्णाली करिडोरको ३१ किलोमिटर सडक कालोपत्र तथा ग्राभेल गरिनेछ । कालीगण्डकी करिडोरको २१ किलोमिटर सडक कालोपत्र गरिनेछ । कोशी करिडोरको उत्तरी खण्डको १५ किलोमिटर सडक कालोपत्र गरिनेछ । यी तीन करिडोरका लागि रु छ अर्ब २५ करोड विनियोजन गरिएको छ”, उनले भने, “गल्छी–स्याफ्रुबेँसी–रसुवागढी सडकखण्ड स्तरोन्नतिका लागि रु एक अर्ब ३५ करोड विनियोजन गरिएको छ । सिद्धार्थ राजमार्गको बुटवल–पोखरा खण्डलाई द्रुतमार्गका रूपमा निर्माण गर्ने कार्य प्रारम्भ गरिनेछ ।”

Leave Your Comment

Related News