काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले आफ्ना सेयरधनीहरुका लागि लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको जेठ १८ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८१/८२ सम्मको संचित मुनाफाबाट लाभांश दिने निर्णय गरेको हो।
निर्णयअनुसार कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको १० प्रतिशतका दरले हुन आउने १३ करोड ६३ लाख ६३ हजार ७०० रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेछ। साथै, बोनस सेयरको लाभांश कर प्रयोजनका लागि चुक्ता पूँजीको ०.५२६३ प्रतिशत अर्थात् ७१ लाख ७७ हजार ३७ रुपैयाँ नगद लाभांश समेत दिने प्रस्ताव गरेको छ। सञ्चालक समितिले अघि सारेको यो लाभांश विद्युत नियमन आयोगको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।


