CLI
Global College

दिगो आर्थिक विकासका लागि निजी क्षेत्र र रोजगार सेवा केन्द्र बीचको सहकार्यमा जोड

काठमाडौं । श्रम बजारको माग र आपूर्तिबीच सन्तुलन कायम गर्दै देशभित्रै मर्यादित रोजगारी सिर्जना गर्न सरकारी निकाय र निजी क्षेत्रबीच एकीकृत सहकार्य अपरिहार्य रहेको सरोकारवालाहरूले जोड दिएका छन् ।

अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघले सोमबार काठमाडौंमा आयोजना गरेको ‘निजी क्षेत्रको संलग्नतामा रोजगार सेवा केन्द्रको प्रभावकारी सञ्चालन रणनीति सम्बन्धी राष्ट्रिय कार्यशाला’ मा वक्ताहरूले यस्तो धारणा व्यक्त गरेका हुन् ।

कार्यशालामा बोल्दै युवा, श्रम तथा रोजगार मन्त्रालयका सहसचिव तथा आन्तरिक रोजगार समन्वय महाशाखा प्रमुख हेमराज तामाङले स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रहरूको क्षमता अभिवृद्धि गर्दै रोजगारदाता र रोजगार खोज्नेबीचको दूरी घटाउनुपर्ने आवश्यकता औँल्याए । उनले सेवा केन्द्रलाई श्रम बजारसँग जोड्ने “ब्रिज” का रूपमा विकास गर्नुपर्ने बताउँदै निजी क्षेत्रसँग सहकार्य विस्तार गर्न सरकार तयार रहेको उल्लेख गरे ।

आईएलओ नेपालका देशीय निर्देशक नुमान ओज्कानले रोजगार सेवा केन्द्रलाई प्रभावकारी बनाउन सबै सरोकारवालाको साझा जिम्मेवारी रहने बताउँदै सामाजिक सुरक्षा र श्रमिक अधिकार सुनिश्चित गर्दै डिजिटल श्रम बजारअनुसार युवालाई प्रतिस्पर्धी बनाउनुपर्नेमा जोड दिए । उनले आईएलओ आवश्यक सहयोग र सहकार्य गर्न तयार रहेको पनि स्पष्ट पारे ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का उपाध्यक्ष प्रबलजंग पाण्डेले उद्योग–व्यवसायलाई दक्ष जनशक्ति आवश्यक रहेको र ठूलो संख्यामा युवा रोजगारी खोज्दै विदेशिन बाध्य रहेको उल्लेख गर्दै यो खाडल कम गर्न सेवा केन्द्र र निजी क्षेत्रबीच साझेदारी मजबुत बनाउनुपर्ने बताए ।

त्यस्तै महासंघका उपाध्यक्ष दिलसुन्दर श्रेष्ठले रोजगार सेवा केन्द्रलाई स्थानीय तहमा श्रम बजार सूचना, रोजगार परामर्श, सीप विकास र रोजगारदातासँग समन्वयको प्रभावकारी माध्यम बनाउनुपर्ने धारणा राखे ।

कार्यशालामा सहभागीहरूले रोजगार सेवा केन्द्रलाई परियोजनामुखी नभई दीर्घकालीन संरचनागत प्रणालीका रूपमा विकास गर्नुपर्ने, डिजिटल प्रणाली सुदृढ गर्नुपर्ने तथा तथ्यांक व्यवस्थापन र निजी क्षेत्रसँगको समन्वय अझ प्रभावकारी बनाउनुपर्ने सुझाव दिएका थिए ।

Leave Your Comment

Related News