काठमाडौं । काठमाडौँ महानगरपालिका, नगर सभा १९ औँ अधिवेशन सम्पन्न भएको छ । जेठ ३१ ग्ते सुरु भएको अधिवेशनको आज बसेको छैटौँ बैठकसँग सकिएको हो ।
आजको बैठकमा नगर सभाको चौथो र पाँचौ वैठकमा पेश भएका संशोधन विधेयक र वार्षिक प्रतिवेदनमाथि छलफल भएको थियो । त्यस क्रममा विधायन समितिका सदस्य हुमादेवी आचार्यले विद्यमान कानुनहरुमा समसामयिक संशोधन सम्बन्धी विधेयकका प्रस्तावित व्यवस्था पेश गरेकी थिइन ।
पेश गरिएका विषयमाथि नगर सभा सदस्यहरु विमलकुमार होडा, सन्तोष ढुङ्गेल, मचाराजा महर्जन, सुरेश मानन्धर र रोजिना श्रेष्ठले धारणा राखेका थिए । यसरी राखिएका धारणा, लिखित संशोधन प्रस्तावलाई समेटेर सभाका अध्यक्ष एवं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले सभामा निर्णयार्थ पेश गरेकी थिइन । यी विधेयकसँगै सभाको पाँचौँ वैठकमा पेश भएका न्यायिक समिति, लेखा समिति र सुशाशन समितिको वार्षिक प्रतिवेदनमाथि सभाका सदस्यहरुले दिनुभएको सुझाव समेटेर निर्णयका लागि पेश भएका थिए ।
यसरी पेश भएका प्रस्तावहरु सर्वसम्मत पारित भएपछि सभाध्यक्ष डंगोलले नगर सभाको वैठक सम्पन्न भएको घोषणा गरेकी हुन् । यससँगै उनले , स्वीकृत कार्यक्रमहरुको सफल कार्यान्वयनबाट मतदाता, महानगरबासी र राजधानी सहर आश्रित व्यक्तिहरुको हित, उपयोग र सुरक्षाको प्रत्याभूति हुने गरी काम गर्न सम्बद्ध सबैसँग अपेक्षा राखेकी छन् ।
यो वर्ष नगर सभा १९ औँ अधिवेशनका बैठक जेठ ३१ गते सुरु भएको हो । त्यस बैठकमा कार्यवाहक प्रमुख डंगोलले, आर्थिक वर्ष २०८३/०८४ का लागि ११ क्षेत्रका १०१ बुँदामा नीति प्रस्ताव गरेकी थिइन । यसरी पेश गर्नुभएको प्रस्तावमाथि असार १ गते बसेको अधिवेशनको दोस्रो वैठकले सर्वसम्मत पारित गर्यो । असार ४ गते बसेको तेस्रो बैठकमा कार्यवाहक प्रमुख डंगोलले, आ. व. २०८३/०८४ का लागि काठमाडौँ महानगरपालिकाका लागि सञ्चित कोषमा व्यय भार पर्ने २५ अरब १३ करोड ३० लाख ५५ हजार रुपियाँ र वाह्य व्यय भार हुने ७५ करोड रुपियाँ गरी २५ अरब ८८ करोड ३० लाख ५५ हजार रुपियाँ बजेट प्रस्ताव पेश भएको थियो । यही बैठकमा उनले आर्थिक वर्ष २०८३/०८४ का लागि आर्थिक विधेयक तथा विनियोजन विधेयक पनि पेश गरेकी थिइन ।
असार १७ गते बसेको अधिवेशनको चौथो वैठकले, यस वर्षका लागि पेश भएको बजेट सर्वसम्मत पारित गर्यो । यस्तै आर्थिक विधेयक र विनियोजन विधेयक सर्वसम्मत पारित भयो । यस बैठकमा विधायन समितिका संयोजक मचाराजा महर्जनले, जनस्वास्थ्य, शिक्षा, विपद, विवाद निरुपण कार्यविधि ऐन, कर्मचारी सेवा शर्त सम्बन्धी ऐनको संशोधन प्रस्ताव पेश गरेका थिए । यी संशोधन विधेयकहरु छलफलका लागि नगर सभाले विधायन समितिमा पठायो ।
पाँचौँ वैठकमा न्यायिक समितिका सदस्य आशा श्रेष्ठ रौनियारले चालु आर्थिक वर्षको न्यायिक समितिको प्रतिवेदन, सिर्जना भेटवालले सुशासन समितिको प्रतिवेदन र गायत्री पुडासैनीले लेखा समितिको वार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो । यस्तै कार्यपालिका अन्तर्गतको सुशासन समितिका संयोजक ख्यामराज तिवारीले, ‘महानगर प्रहरी ऐन २०८० को दोस्रो संशोधन विधेयक २०८३’ र ‘भवन निर्माण मापदण्ड २०८० को दोस्रो संशोधन २०८३’ सम्बन्धी प्रस्ताव पेश गरेकी थिइन ।


