CLI

आईपीओ अनुमति पर्खिरहेको जस्मिन पेन्ट्स आम्दानी २३ प्रतिशतले बढ्यो, ऋण तिर्ने क्षमतामा उच्च वृद्धि

काठमाडौं । सर्वसाधारणको लागि आईपीआओ निष्कासनको अनुमति पर्खिरहेको जस्मिन पेन्ट्स  लिमिटेडले गत आर्थिक वर्षमा वित्तीय प्रगति गरेको छ । केयर रेटिङ्स नेपाल लिमिटेडका अनुसार कम्पनीले गत वर्ष (सन् २०२५) मा ८३ करोड ५० लाख रुपैयाँ आम्दानी गर्न सफल भएको छ । जुन अघिल्लो वर्ष (सन् २०२४) को ६७ करोड ५० लाख रुपैयाँको तुलनामा २३.३ प्रतिशतको धैरे हो ।

त्यसतै चालु आर्थिक वर्षको ९ महिनामै ८७ करोड ४० लाख रुपैयाँ आम्दानी गरेसकेको छ। कम्पनीको आम्दानी पछिल्ला वर्षहरुमा निरन्तर बढ्दो क्रममा देखिएको छ ।  सन् २०२४ मा ६७ करोड ७० लाख रुपैयाँ, सन् २०२३ मा ६२ करोड २० लाख रुपैयाँ, सन् २०२२ मा ७४ करोड ६० लाख रुपैयाँ तथा सन् २०२१ मा ६५ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको रेटिङ एजेन्सी इक्रा नेपालले जनाएको छ ।

यसैबीच इक्रा नेपालले कम्पनीको इस्युअर रेटिङलाई स्तरोन्नति गर्दै ‘इक्राएनपी आइआर बीबीबी माइनसबाट ‘इक्राएनपी आइआर बीबीबी’ कायम गरेको छ । इक्राका अनुसार यो रेटिङले कम्पनीमा वित्तीय दायित्व समयमै पूरा गर्ने मध्यम स्तरको सुरक्षा रहेको तथा कर्जा जोखिम मध्यम रहेको संकेत गर्छ ।

इक्रा नेपालका अनुसार   घरेलु तथा व्यावसायिक निर्माण क्षेत्रमा मन्दी रहे पनि ज्यास्मिन पेन्ट्सले आर्थिक वर्ष २०२५ मा करिब २३% र आर्थिक वर्ष २०२६ को ९ महिनामा वार्षिक करिब ४०% को बलियो आम्दानी वृद्धि गर्दै आफ्नो सञ्चालन तथा वित्तीय अवस्था सुधारेका छ ।

बजारबाट राम्रो मूल्य प्राप्त हुनु, व्यवसाय बढे पनि ऋण घट्नु, अनुकूल ब्याजदर, सकारात्मक नगद सञ्चिति र देशभरि फैलिएको डिलर सञ्जालका कारण कम्पनीको वित्तीय स्थिति तथा ब्रान्डको उपस्थिति बलियो बनेको छ। साथै, प्रवर्द्धकहरूको लामो अनुभव र व्यावसायिक इतिहास यसका सबल पक्ष हुन् इक्रा जनएको छ ।

यद्यपि, उच्च उधारो र मौज्दात सामानका कारण चालु पुँजीको चाप (अप्रिल २०२६ मध्यसम्म करिब ४१%) उच्च रहनु कम्पनीको मुख्य चुनौती हो, जुन अघिल्लो वर्षको ५८% भन्दा भने सुधारिएको हो। उठ्न नसक्ने उधारोका लागि गरिएको २१% को व्यवस्था र बैंकबाट थप ऋण लिन पाउने ५४% को लचकताले तरलतामा केही राहत दिएको छ।

आगामी दिनमा बजार हिस्सा बढाउँदै उधारो र मौज्दात व्यवस्थापन (चालु पुँजी चक्र) लाई प्रभावकारी बनाउने, नाफाको दर जोगाउने, तथा उच्च लाभांश वितरण, पुँजीगत खर्च, बजारको तीव्र प्रतिस्पर्धा र कच्चा पदार्थको मूल्यको उतारचढावलाई सन्तुलनमा राख्ने कम्पनीको क्षमता नै मुख्य निगरानीको विषय रहनेछ।

कम्पनीको पुँजीकरण र ऋण भुक्तानी क्षमतामा राम्रो सुधार आएको छ। सन् २०२६ अप्रिल मध्यसम्ममा कम्पनीको ऋण र पुँजीको अनुपात ०.२ गुणा तथा कुल बाह्य दायित्व र खुद सम्पत्तिको अनुपात ०.७ गुणा कायम भएको छ, जुन अघिल्लो वर्षको मूल्यांकनमा क्रमशः ०.३ गुणा र ०.८ गुणा थियो।

नगद लाभांश वितरणका बावजुद लगातारको खुद नाफा सञ्चिति र हकप्रद सेयर निष्कासनले यसमा मुख्य सहयोग पुर्‍याएको छ। यसैगरी, कम्पनीले प्रस्ताव गरेको १० करोड रुपैयाँ बराबरको प्रारम्भिक सार्वजनिक निष्कासन (साधारण सेयर) ले पुँजीगत अवस्थालाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ।

व्यवसाय बढे पनि ऋणको मात्रा घट्दै जानु र अनुकूल ब्याजदरका कारण ऋण तिर्न सक्ने क्षमता निकै सबल अवस्थामा छ। आर्थिक वर्ष २०२५ मा ५.१ गुणा रहेको ऋण भुक्तानी क्षमता आर्थिक वर्ष २०२६ को ९ महिनामा बढेर ७.६ गुणा पुगेको छ।

आगामी दिनमा यी वित्तीय सूचकहरुलाई निरन्तर मजबुत राखिराख्नका लागि सामान्य उतारचढावका बावजुद नाफाको दरलाई बलियो बनाइराख्ने, पुँजीगत खर्चका योजना र लाभांश वितरण नीतिलाई सन्तुलनमा राख्ने कम्पनीको क्षमता नै मुख्य हेरिने कुरा हुन्।

सन् १९९४ मा स्थापना भएको जस्मिन पेन्ट्स २०२४ मा पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको थियो । चितवनको भरतपुरस्थित उत्पादन प्लान्टको वार्षिक उत्पादन क्षमता १८ हजार  ३४१ मेट्रिक टन रहेको छ । कम्पनीले भित्री तथा बाहिरी भित्ताका रङ, मेटल तथा काठका रङ र वाटरप्रुफिङ उत्पादनहरू बजारमा उपलब्ध गराउँदै आएको छ। हाल कम्पनीको चुक्ता पुँजी ४० करोड रुपैयाँ रहेको छ ।

यस कम्पनीमा अर्याल परिवारको मुख्य लगानी रहेको छ, जस अन्तर्गत अध्यक्ष संगीता अर्यालको करिब ९ प्रतिशत, मधुसूदन अर्यालको ३४ प्रतिशत, लक्ष्मणप्रसाद अर्यालको २५ प्रतिशत, अनुराधा शर्मा अर्यालको १५ प्रतिशत र सौगात अर्यालको १३ प्रतिशत शेयर स्वामित्व रहेको छ । ३२ वर्ष लामो व्यावसायिक इतिहास बोकेको यस कम्पनीको व्यवस्थापनमा प्रवर्द्धकहरू आफैँ प्रत्यक्ष रूपमा संलग्न छन् ।

Leave Your Comment

Related News