काठमाडौं । गोकर्णस्थित फरेस्ट रिसोर्टको लिज अवधि थप गर्ने प्रक्रियामा प्रतिस्पर्धात्मक प्रक्रिया अवलम्बन नगरिएको तथा सम्झौताअनुसार निर्माण कार्यसमेत सुरु नभएको पाइएको छ।
नेपाल ट्रष्ट ऐन, २०६४ (२०७५/११/१६ मा संशोधित) अनुसार लिजमा रहेको सम्पत्तिमा थप पुँजी लगानी गरी ट्रष्टलाई थप आर्थिक लाभ हुने सुनिश्चित भएमा ट्रष्टको सिफारिसमा नेपाल सरकारले लिज अवधि थप गर्न सक्ने व्यवस्था छ। यही व्यवस्थाअनुसार गोकर्ण राष्ट्रिय निकुञ्जभित्र रहेको रिसोर्टको लिज अवधि थप गरिएको थियो।
तत्कालीन राजदरबारको डिपार्टमेन्ट अफ क्राउन प्रोपर्टी र होटल सञ्चालकबीच २०५२ सालमा गोकर्ण राष्ट्रिय निकुञ्जभित्रको २ हजार ७९२ रोपनी ३ पैसा १ दाम जग्गामा फरेस्ट रिसोर्ट निर्माण तथा सञ्चालनका लागि ३० वर्षे लिज सम्झौता भएको थियो। नेपाल ट्रष्ट स्थापना भएपछि उक्त सम्झौतामा पूरक सम्झौता गरिएको थियो।
लिज अवधि थप गर्दा पुरानो सम्झौताकै बाँकी अवधिमा ट्रष्टलाई प्रत्यक्ष आर्थिक लाभ हुने, २९ करोड रुपैयाँको नयाँ लगानी भित्रिने, ४८ सुविधायुक्त कोठा र ४०० जना अट्ने सभाहल निर्माण हुने तथा थप २५ वर्षको अवधिमा लिज भाडाबाट करिब १ अर्ब १ करोड ५१ लाख रुपैयाँ प्राप्त हुने आधार प्रस्तुत गरिएको थियो। साथै पर्यटन प्रवर्द्धन र रोजगारी सिर्जनामा समेत योगदान पुग्ने दाबी गरिएको थियो।
तर निर्माण कार्यका लागि वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन २०७८ माघ २५ मा मात्र स्वीकृत भए पनि लिज थप गर्ने निर्णय भने २०७६ पुस २९ मै गरिएको देखिएको छ। त्यस्तै, विद्यमान लिज अवधि सकिनुभन्दा पाँच वर्षअघि नै कानुन संशोधन गरेर लिज अवधि थप गरिएको, बजार मूल्याङ्कनका लागि प्रतिस्पर्धात्मक रूपमा फर्म छनोट नगरेको तथा साविककै लिजधनीको म्याद प्रतिस्पर्धाबिनै थप गरिएको पाइएको छ।
यसअघि पनि ट्रष्टको सम्पत्ति लिजमा दिँदा प्रतिस्पर्धात्मक प्रक्रिया अपनाउनुपर्ने सुझाव दिइएको भए पनि त्यसको कार्यान्वयन नभएको उल्लेख गरिएको छ।
२०७६ माघ १ मा भएको संशोधित सम्झौताअनुसार रिसोर्ट सञ्चालकले कम्तीमा २९ करोड रुपैयाँ लगानी गरी ४८ कोठा र ४०० जना अट्ने सभाहल तीन वर्षभित्र निर्माण सम्पन्न गरी नेपाल ट्रष्टलाई जानकारी गराउनुपर्ने व्यवस्था छ। तर हालसम्म उक्त निर्माण कार्य सुरु नै नभएको पाइएको छ।
यसले सम्झौताका सर्तहरूको प्रभावकारी कार्यान्वयन तथा नेपाल ट्रष्टको सम्पत्ति व्यवस्थापनमा थप निगरानी र जवाफदेहिताको आवश्यकता औँल्याएको छ।


