काठमाडौं । नेपालमा विदेशी लगानी बढ्दै गएसँगै त्यस बापत प्राप्त हुने रोयल्टी रकममा उल्लेख्य वृद्धि भएको छ।
उद्योग विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्ममा मात्रै कुल १५७ वटा उद्योगहरुमार्फत ५ अर्ब ५८ करोड ४८ लाख ६२ हजार ५४ रुपैयाँ रोयल्टी प्राप्त भएको छ । जुन आर्थिक वर्ष २०८१/८२ को तुलनामा १८९.२९ प्रतिशत अर्थात् ३ अर्ब ६५ करोड ४२ लाख ८७ हजार रुपैयाँले बढी हो। आर्थिक वर्ष २०८१/८२ मा विदेशी लगानीका उद्योगमार्फत् १ अर्ब ९३ करोड ५ लाख ७४ हजार ४३७ रुपैयाँ रोयल्टी प्राप्त भएको थियो ।
यद्यपि विदेशी मुद्राको भुक्तानीमा भने फरक चित्र देखिएको छ, अघिल्लो वर्ष पर्यटन र उत्पादनमूलक क्षेत्रका कारण १ करोड अमेरिकी डलरभन्दा बढी रोयल्टी प्राप्त भएकोमा यो वर्षको जेठसम्म डलर भुक्तानी घटेर १५ लाख २१ हजार डलरमा सीमित भएको छ भने भारतीय रुपैयाँतर्फ ५४ करोड ३६ लाख भारु रोयल्टी प्राप्त भएको छ ।
गत आर्थिक वर्षको असार मसान्तसम्मको कुल रोयल्टी भने १७ अर्ब ८५ करोड ४६ लाख रुपैयाँ बराबर पुगेको थियो, जसमा ५ अर्ब ८९ करोड ३१ हजार नेपाली रुपैयाँ, १७ लाख ७५ हजार डलर र ५६ करोड ९७ लाख २१ हजार भारु सामेल थिए।
रोयल्टी प्राप्त हुने क्षेत्रगत रुपमा हेर्दा उत्पादनमूलक क्षेत्रको हिस्सा सबैभन्दा ठूलो रहेको छ, जहाँ ९० वटा सम्झौतामार्फत ४ अर्ब ३८ करोड ७८ लाख रुपैयाँ, ६ लाख १० हजार अमेरिकी डलर र ५३ करोड ५८ लाखभन्दा बढी भारु रोयल्टी प्राप्त भएको छ ।
यसबाहेक पूर्वाधार क्षेत्रबाट ८३ करोड ४ लाख रुपैयाँ, सेवा क्षेत्रका १४ सम्झौताबाट ७२ करोड ३५ लाख रुपैयाँ र १ लाख ४९ हजार अमेरिकी डलर, पर्यटन क्षेत्रका ४६ सम्झौताबाट २७ करोड ५ लाख रुपैयाँ, ७ लाख ६१ हजार डलर र ७७ लाख ९९ हजार भारु, तथा ऊर्जा र सूचना प्रविधि क्षेत्रबाट क्रमशस् १९ करोड ६ लाख र ४० लाख ३७ हजार रुपैयाँ रोयल्टी सरकारले प्राप्त गरेको छ ।
सरकारले विदेशी लगानीलाई पनि विभिन्न करदको दायरामा राखेको कारण उनीहरुले नेपालमा उद्योग तथा व्यवसाय सञ्चालन गरे पश्यात राजस्व बुझाउनुपर्ने हुन्छ ।
सरकारी व्यवस्था अनुरुप नेपालमा विदेशी लगानीका उद्योग तथा व्यवसायहरूले नेपाली नागरिक सरह नै कर प्रणाली अन्तर्गत कर तिर्नुपर्ने हुन्छ, तर उनीहरूले विशेष औद्योगिक क्षेत्र र तोकिएका व्यवसायमा कानुनी व्यवस्था अनुसार कर छुट र सुविधाहरू प्राप्त गर्न सक्दछन्।विदेशी लगानीकर्ताहरूले सामान्यतया उद्योग तथा कम्पनीहरूले आफ्नो वार्षिक आयमा २५ प्रतिशत आयकर तिर्नुपर्छ। तर, उद्योगको प्रकृति, स्थान र तोकिएको मापदण्डका आधारमा १० प्रतिशत, १५ प्रतिशत वा २० प्रतिशत सम्म छुट वा विशेष दर लाग्न सक्ने प्रावधान छ।
विदेशी लगानीकर्ताले नेपालबाट आफ्नो देशमा लाभांश लैजाँदा लाभांश रकममा ५ प्रतिशत कर तिनुपर्ने हुन्छ । विदेशी लगानीकर्तालाई प्रत्यक्ष विदेशी लगानी तथा हस्तान्तरण ऐन, २०७५ले नेपालमा रहेको उद्योग क्षेत्रमा लगानी गर्ने अधिकार प्रदान गरेको छ । ‘औद्योगिक व्यवसाय ऐन–०७५’ अनुसार १० करोड रुपैयाँसम्म स्थिर पुँजी भएको साना, १० करोड रुपैयाँदेखि २५ करोड रुपैयाँसम्मको स्थिर पुँजी भएको मझौला र २५ करोड रुपैयाँभन्दा बढी स्थिर पुँजी भएको ठूला विभागले दर्ता गर्छ ।


