CLI

३२ अर्ब ३५ करोड आम्दानी गरेको सूर्य नेपालको वित्तीय अवस्था मजबुत, ‘ए१ प्लस’ रेटिङ पुनः पुष्टि

काठमाडौं । सूर्य नेपाल प्रालिले ५ अर्ब ७५ करोड रुपैयाँ बराबरको अल्पकालीन बैंक कर्जाका लागि ‘केयर एनपी ए१ प्लस’ (CARE-NP A1+) रेटिङ पुनः पुष्टि गराएको छ। कम्पनीको बलियो ब्रान्ड, बजारमा एकछत्र उपस्थिति, अनुभवी व्यवस्थापन र मजबुत वित्तीय अवस्थालाई आधार मान्दै केयर रेटिङ नेपालले यो रेटिङ नवीकरण गरेको हो।

सूर्य नेपाल प्रालिले आर्थिक वर्ष २०८१/८२ (सन् २०२५) मा ३२ अर्ब ३५ करोड ६० लाख रुपैयाँ बराबरको आम्दानी गरेको छ । यो अघिल्लो वर्षको भन्दा ३ अर्ब ५३ करोड ८० लाख बढी हो । कम्पनीले सन् २०२४ मा २८ अर्ब ८१ करोड ८० लाख र सन् २०२३ मा २८ अर्ब ९९ करोड आम्दानी गरेको रेटिङ एजेन्सी केयर रेटिङ नेपालले जनाएको छ ।

यता, रेटिङ एजेन्सीका अनुसार भारतको आईटीसी लिमिटेडको ६१ प्रतिशत स्वामित्व रहेको सूर्य नेपालले आफ्नो मूल कम्पनीबाट व्यवस्थापन, प्रविधि, अनुसन्धान तथा उत्पादन विकासमा महत्वपूर्ण सहयोग प्राप्त गर्दै आएको छ । आईटीसी भारतको सबैभन्दा ठूलो चुरोट उत्पादक कम्पनीमध्ये एक हो ।

सूर्य नेपालले ४० वर्षभन्दा लामो समयदेखि चुरोट उत्पादन गर्दै आएको छ । कम्पनीका सूर्य लिजेन्ड, सूर्य २४ क्यारेट, सूर्य लक्जरी किङ्स, शिखर, खुकुरी, नौलो, पल्स, बिजुली र चौतारीलगायत ब्रान्ड नेपाली बजारमा स्थापित छन् । कम्पनीसँग देशभर फैलिएको वितरण सञ्जाल र बलियो बजार उपस्थिति रहेको प्रतिवेदनमा उल्लेख छ ।

सूर्य नेपालसँग दीर्घकालीन बैंक ऋण नरहेको र कुल गियरिङ अनुपात ०.०१ गुणामा सीमित रहेको जनाइएको छ । अघिल्लो वर्षसम्म कम्पनीसँग ४ अर्ब ९७ करोड रुपैयाँ बैंक निक्षेप, करिब १ अर्ब रुपैयाँ ट्रेजरी बिल र २१ करोड ६० लाख रुपैयाँ नगद मौज्दात रहेको प्रतिवेदनमा उल्लेख छ । कम्पनीले नियमित रुपमा शेयरधनीलाई लाभांश वितरण गर्दै आएको पनि रेटिङ एजेन्सीले जनाएको छ।

सूर्य नेपालको व्यवसाय अत्यधिक रुपमा चुरोट क्षेत्रमै केन्द्रित रहेको भन्दै रेटिङ एजेन्सीले यसलाई कमजोरीका रुपमा उल्लेख गरेको छ । अगरबत्ती र प्याकेज्ड खाद्य पदार्थमा कम्पनीको उपस्थिति भए पनि कुल आम्दानीमा तिनको योगदान न्यून रहेको केयर रेटिङ्सले जनाइएको छ।

कम्पनीले व्यवसाय विविधीकरणका लागि होटल क्षेत्रमा प्रवेश गर्ने योजना बनाएको छ। यद्दपि हालको बलियो नगद प्रवाहका कारण प्रस्तावित लगानीले पुँजी संरचनामा ठूलो दबाब नपार्ने अपेक्षा गरिएको छ । तर भविष्यमा ठूलो ऋण लिएर लगानी गरे वित्तीय अवस्थामाथि असर पर्न सक्ने रेटिङ एजेन्सीले चेतावनी दिएको छ ।

प्रतिवेदनले नेपालमा चुरोटमाथि निरन्तर बढ्दै गएको करको भारले कानुनी रुपमा सञ्चालनमा रहेका उत्पादक कम्पनीमाथि दबाब बढाएको जनाएको छ । चुरोटको मूल्य बढ्दै जाँदा उपभोक्ता सस्तो तथा कर छलिएका सुर्तीजन्य वस्तुतर्फ आकर्षित हुन सक्ने र यसले कम्पनीको आम्दानी तथा नाफामा असर पार्न सक्ने उल्लेख गरिएको छ ।

त्यस्तै, सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐनअन्तर्गत चुरोटको प्याकेटको ९० प्रतिशत भाग स्वास्थ्य चेतावनी चित्रले ढाक्नुपर्ने व्यवस्था पनि व्यवसायका लागि चुनौतीपूर्ण रहेको रेटिङ एजेन्सीको भनाइ छ। यसले अवैध रुपमा भित्रिने विदेशी चुरोटको व्यापार बढाउन सक्ने र त्यसको प्रत्यक्ष असर स्वदेशी उद्योगलाई पर्न सक्ने प्रतिवेदनमा उल्लेख छ।

सन् १९८६ मा स्थापना भएको सूर्य नेपाल हाल नेपालका ठूला निजी क्षेत्रका उत्पादनमूलक उद्योगमध्ये एक हो । कम्पनी चुरोट, अगरबत्ती तथा ब्रान्डेड प्याकेज्ड खाद्य पदार्थको उत्पादन तथा बिक्रीमा संलग्न छ ।

Leave Your Comment

Related News