CLI

रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले माग्यो सीईओ

काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा खुला प्रतिस्पर्धाबाट पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। कम्पनीले आज सूचना जारी गर्दै योग्य, सक्षम तथा अनुभवी नेपाली नागरिकहरूबाट दरखास्त माग गरेको हो।

करार सेवा अन्तर्गत रहने यस पदको कार्यकाल बढीमा ४ वर्षको हुनेछ। सीईओ पदमा आवेदन दिनका लागि इलेक्ट्रिकल, मेकानिकल वा सिभिल इन्जिनियरिङ अथवा व्यवसाय प्रशासन (बिजनेस एडमिनिस्ट्रेशन) मा स्नातकोत्तर (मास्टर्स) उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव भएको हुनुपर्नेछ। यस्तै ती विषयमा स्नातक (बैचलर्स) तह उत्तीर्ण गरेकाको हकमा भने सम्बन्धित क्षेत्रमा कम्तीमा १२ वर्षको व्यावसायिक अनुभव माग गरिएको छ।

जलविद्युत् आयोजनाको निर्माण कार्यमा अधिकृत स्तर वा सोभन्दा माथिल्लो पदमा काम गरेको अथवा जलविद्युत् कम्पनीको सीईओ, कार्यकारी प्रमुख वा वरिष्ठ व्यवस्थापकीय तहमा काम गरेको अनुभव भएका उम्मेदवारलाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ। दरखास्त दिने अन्तिम मितिसम्म उम्मेदवारको उमेर ४० वर्ष पूरा भई ६० वर्ष ननाघेको हुनुपर्नेछ।

इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कार्यालय समयभित्र काठमाडौँको धुम्बाराहीस्थित कम्पनीको कार्यालयमा आवश्यक कागजातसहित वा इमेल मार्फत आवेदन दिन सक्नेछन्। दरखास्त फारम तथा कार्यक्षेत्रगत शर्त (टिओआर) सम्बन्धी कागजातहरू कम्पनीको आधिकारिक वेबसाइटबाट डाउनलोड गर्न सकिनेछ। उम्मेदवारको छनोट टिओआरमा उल्लेख भए अनुसार हुनेछ भने पारिश्रमिक तथा अन्य सुविधाहरू कम्पनीको नियम र आपसी सहमतिमा तय हुनेछ।

 

Leave Your Comment

Related News