CLI

ऊर्जा मन्त्री श्रेष्ठको सल्लाहकारमा चितवनका कँडेल नियुक्त

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको ऊर्जा व्यापार तथा पूर्वाधारसम्बन्धी सल्लाहकार (विशिष्ट श्रेणी) मा चितवनका विवेक राज कँडेल नियुक्त भएका छन्।

मन्त्री श्रेष्ठको सचिवालयका अनुसार कँडेलले नेपालको दीर्घकालीन ऊर्जा सुरक्षासम्बन्धी नीति निर्माण, आन्तरिक ऊर्जा क्षेत्रको सुधार तथा निजी क्षेत्रको लगानी आकर्षित गर्न रणनीतिक परामर्श दिनेछन्।

त्यसैगरी, उनले ऊर्जा व्यापार विस्तार, क्षेत्रीय ऊर्जा बजार एकीकरण तथा ऊर्जा पूर्वाधार विकासलाई गति दिन महत्वपूर्ण भूमिका निर्वाह गर्ने सचिवालयले जनाएको छ।

कँडेलले त्रिभुवन विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङ अध्ययन गरेका छन्। उनले अमेरिकाको हार्वर्ड विश्वविद्यालयको केनेडी स्कुल अफ गभर्मेन्टबाट जलवायु, ऊर्जा रूपान्तरण र नेतृत्वमा विशेषज्ञतासहित सार्वजनिक प्रशासनमा स्नातकोत्तर (एमपीए) गरेका छन्। साथै, नेदरल्यान्ड्सको युनिभर्सिटी अफ टुवान्टेबाट ऊर्जा व्यवस्थापनमा स्नातकोत्तर उपाधि हासिल गरेका छन्।

कँडेलसँग संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी), विश्व बैंक र अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा एजेन्सी (IRENA) लगायतका संस्थामा डेढ दशकभन्दा बढी समय काम गरेको अनुभव रहेको छ।

उनको नियुक्तिसँगै ऊर्जा क्षेत्रको नीति सुधार, क्षेत्रीय ऊर्जा व्यापार विस्तार र पूर्वाधार विकासमा थप रणनीतिक सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Leave Your Comment

Related News