काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रको समृद्धि, पूर्वाधार विकास र सार्वजनिक सेवाको गुणस्तर दक्ष, इमानदार तथा उत्तरदायी इन्जिनियरहरूको कार्यसम्पादनमा निर्भर रहने बताएका छन्।
जल तथा ऊर्जा आयोगको सचिवालयअन्तर्गत जलस्रोत तथा ऊर्जा अनुसन्धान केन्द्रले आयोजना गरेको नवप्रवेशी युवा इन्जिनियरहरूको तालिम कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले सरकारी सेवामा प्रवेश गर्नु केवल जागिर सुरु गर्नु नभई राष्ट्र निर्माणको अभियानमा सहभागी हुने ऐतिहासिक अवसर भएको बताए।
उनले अब इन्जिनियरहरू केवल प्राविधिक जनशक्ति नभई राष्ट्रसेवकको भूमिकामा प्रवेश गरेको उल्लेख गर्दै प्रत्येक निर्णय, प्राविधिक सुझाव, हस्ताक्षर र कार्यले लाखौं नागरिकको जीवनमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले उच्च जिम्मेवारीबोधका साथ काम गर्नुपर्ने बताए।
मन्त्री श्रेष्ठले कुनै पनि देशको विकास, सभ्यता र समृद्धि इन्जिनियरहरूको सिर्जनशीलता, अनुसन्धान, अनुशासन र अथक परिश्रमसँग जोडिएको उल्लेख गरे। सडक, पुल, जलविद्युत् आयोजना, प्रसारण लाइन, सिँचाइ प्रणाली, खानेपानी आयोजना, औद्योगिक संरचना तथा आधुनिक सहर निर्माणमा इन्जिनियरहरूको भूमिका निर्णायक हुने उनको भनाइ थियो।
उनले इन्जिनियरिङलाई केवल गणित र विज्ञानको प्रयोग नभई समस्यालाई समाधानमा रूपान्तरण गर्ने सिर्जनात्मक विधा भएको बताए। सफल इन्जिनियरले संरचना मात्र नभई अवसर, विश्वास र भविष्य निर्माण गर्ने भएकाले उनीहरूको भूमिका राष्ट्र विकासमा अत्यन्त महत्वपूर्ण रहेको उनको भनाइ थियो।
नेपाल ऊर्जा उत्पादन विस्तार, स्वच्छ ऊर्जा प्रवर्द्धन, अन्तरदेशीय विद्युत् व्यापार, सिँचाइ विस्तार, जलस्रोतको समुचित उपयोग तथा जलवायु परिवर्तनअनुकूल पूर्वाधार निर्माणको नयाँ चरणमा रहेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले यी लक्ष्य नीति र बजेटले मात्र नभई दक्ष, प्रतिबद्ध र इमानदार प्राविधिक जनशक्तिको योगदानबाट मात्रै पूरा हुने बताए।
सरकारी सेवामा ज्ञानसँगै चरित्रको पनि उत्तिकै महत्व रहेको उल्लेख गर्दै उनले प्राविधिक दक्षताभन्दा कतिपय अवस्थामा नैतिक साहस अझ महत्वपूर्ण हुने बताए। सहज र सहीमध्ये कुनै एक रोज्नुपर्ने अवस्था आए सही बाटो रोज्ने साहस नै सच्चा राष्ट्रसेवकको पहिचान हुने उनको भनाइ थियो।
इन्जिनियरको सबैभन्दा ठूलो सम्पत्ति प्रमाणपत्र होइन, समाजले गर्ने विश्वास भएको उल्लेख गर्दै मन्त्री श्रेष्ठले पारदर्शिता, उत्तरदायित्व, निष्पक्षता र सार्वजनिक हितलाई कार्यसंस्कृतिको केन्द्रमा राख्न आग्रह गरे। जनताको सरकारप्रतिको विश्वास राष्ट्रसेवकको इमानदार व्यवहारबाट निर्माण हुने भएकाले प्रत्येक कर्मचारीले उच्च नैतिक आचरण कायम गर्नुपर्नेमा उनले जोड दिए।
विश्वभर तीव्र गतिमा विकसित भइरहेको प्रविधिका कारण इन्जिनियरिङको स्वरूप बदलिइरहेको उल्लेख गर्दै उनले निरन्तर अध्ययन, अनुसन्धान र नयाँ प्रविधि आत्मसात् नगरी भविष्यका चुनौती सामना गर्न नसकिने बताए। प्राप्त ज्ञानलाई निरन्तर अद्यावधिक गर्दै नवप्रवर्तनमुखी सोच विकास गर्नुपर्ने आवश्यकता पनि उनले औंल्याए।
नेपालका स्रोत सीमित भए पनि सोच र सिर्जनशीलता सीमित हुन नहुने उल्लेख गर्दै मन्त्री श्रेष्ठले स्थानीय ज्ञान, परम्परागत सीप र आधुनिक प्रविधिको प्रभावकारी संयोजनबाट भौगोलिक चुनौतीलाई विकासको अवसरमा रूपान्तरण गर्न सकिने विश्वास व्यक्त गरे। कम लागतमा गुणस्तरीय पूर्वाधार निर्माण, हरित ऊर्जा, ऊर्जा दक्षता, डिजिटल प्रविधि तथा दिगोपनलाई विकासको आधार बनाउनुपर्नेमा उनले विशेष जोड दिए।
पूर्वाधार निर्माणमा गुणस्तरप्रति कुनै पनि प्रकारको सम्झौता गर्न नहुने भन्दै मन्त्री श्रेष्ठले डिजाइनदेखि निर्माण, सुपरिवेक्षणदेखि परीक्षणसम्म प्रत्येक चरणमा प्राविधिक मापदण्ड र व्यावसायिक नैतिकता कडाइका साथ पालना गर्न निर्देशन दिए। सानो लापरबाहीले पनि ठूलो दुर्घटना निम्त्याउन सक्ने भएकाले जिम्मेवारीपूर्वक काम गर्न उनले आग्रह गरे।
उनले नयाँ पुस्ताका इन्जिनियरबाट देशले केवल प्राविधिक दक्षता मात्र नभई नवीन सोच, सकारात्मक ऊर्जा, नेतृत्व क्षमता र परिणाममुखी कार्यशैलीको अपेक्षा गरेको उल्लेख गर्दै समर्पण, इमानदारी र उत्कृष्ट कार्यसम्पादनका साथ राष्ट्रसेवामा लाग्न सबै नवप्रवेशी इन्जिनियरलाई आह्वान गरे।


