काठमाडौं । बजारमा देखिएको एलपी ग्यास अभावको समस्या समाधानका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला निकायबीच छलफल भएको छ।
मुख्य सचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा भएको बैठकमा ग्यास आपूर्तिको अवस्था, अभावको कारण र समाधानका उपायबारे समीक्षा गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
छलफलमा व्यवसायीहरूले बजारमा वास्तविक ग्यास अभाव नभएको दाबी गर्दै उपभोक्ताले आवश्यकभन्दा बढी ग्यास भण्डारण गर्दा समस्या देखिएको बताएका छन्। साथै, अहिले पहिलेभन्दा बढी ग्यास आयात भइरहेको पनि उनीहरूको भनाइ छ।
बैठकले ग्यास आपूर्तिमा समस्या भएका जिल्लामा वितरणलाई थप प्रभावकारी बनाउने तथा आगामी दशैं–तिहारलाई लक्षित गर्दै आगामी तीन महिनासम्म प्रत्येक महिना ५० हजार मेट्रिक टनभन्दा बढी एलपी ग्यास आयात गर्ने निर्णय गरेको छ।
मुख्य सचिव कार्कीले ग्यास अभावको दीर्घकालीन समाधानका लागि सरोकारवालासँग थप छलफललाई निरन्तरता दिइने बताएका छन्।


