CLI

वित्तीय खर्च घटाउँदा पनि रिलायन्स स्पिनिङको नाफामा गिरावट

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले अर्थिक वर्ष २०८२\८३ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।   विवरण अनुसार कम्पनीको नाफामा गिरावट अएको छ ।  आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा रिलायन्स स्पिनिङ मिल्सको उत्पादन बिक्री आम्दानी बढेर १० अर्ब ४५ करोड ९६ लाख रुपैयाँ पुगे तापनि खुद नाफामा भने १६.१४ प्रतिशतको गिरावट आएको छ।

कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा ३९ करोड ९० लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो नाफा ४७ करोड ५८ लाख रुपैयाँ रहेको थियो । रिलायन्सको वित्तीय खर्च भने उल्लेख्य रुपमा घटेको छ। अघिल्लो वर्ष ४४ करोड ३४ लाख रुपैयाँ रहेको वित्तीय खर्च गत वर्ष २६ करोड ९८ लाख रुपैयाँमा झरेको छ । कम्पनीको अन्य आम्दानी २ करोड ६६ लाख रुपैयाँ रहेको छ।

बिक्री लागत ८ अर्ब ७४ करोडबाट बढेर ९ अर्ब ७ करोड पुग्नुका साथै डलरको तुलनामा नेपाली रुपैयाँ १२.३७ प्रतिशतले अवमूल्यन हुँदा नाफा प्रभावित भएको हो। डलरमा आधारित कच्चा पदार्थ खरिद र वैदेशिक कर्जाका कारण कम्पनीले २० करोड २ लाख रुपैयाँ विदेशी विनिमय हानि व्यहोर्नुपरेको छ, जसमा ८ करोड १० लाख रुपैयाँ डलर कर्जाको पुनर्मूल्याङ्कनबाट सिर्जित गैर-नगद नोक्सानी रहेको छ।

समीक्षा अवधिमा कम्पनीले आफ्नो ब्याज खर्च ४४ करोड ३४ लाखबाट घटाएर २६ करोड ९८ लाखमा सीमित गर्न सफल भएको छ भने सञ्चालन नाफा ७४ करोड रुपैयाँ कायम गरेको छ। चुक्ता पुँजी १ अर्ब ९० करोड रुपैयाँ रहेको रिलायन्सको सञ्चित नाफा (रिटेन्ड अर्निङ) ७ अर्ब ६६ करोड रुपैयाँभन्दा बढी पुगेको छ। अघिल्लो वर्ष कम्पनीको सञ्चित नाफा ५ अर्ब ८२ करोड रुपैयाँ रहेको थियो। त्यस्तै दायित्व ७ अर्ब ३८ करोड रुपैयाँबाट घटेर ४ अर्ब ४३ करोड रुपैयाँमा झरेको छ।राष्ट्र बैंकको निर्देशन अनुसार कर्जाको साँवा-ब्याज नियमित भुक्तानी गरिरहेको र तरलता अवस्था सन्तोषजनक रहेकाले विनिमय दरको दबाब हटेमा कम्पनीको कार्यसम्पादन अझ सुदृढ हुने सङ्केत देखिन्छ।

Leave Your Comment

Related News