CLI
Global College

४८८ मध्ये २० लुम सञ्चालनमा, हेटौँडा कपडा उद्योग पूर्ण क्षमतामा चलाउने तयारी

मकवानपुर । लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगलाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने तयारी अघि बढेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री गौरीकुमारी यादवले उद्योग पुनःसञ्चालनको प्रयास सफल हुँदै गएको बताएकी छन्।

शनिबार उद्योगको स्थलगत अवलोकनपछि पत्रकारहरूसँग कुरा गर्दै राज्यमन्त्री यादवले उद्योगमा रहेका ४८८ वटै लुम क्रमशः सञ्चालनमा ल्याइने जानकारी दिइन्। उनका अनुसार हालसम्म २० वटा लुम सफलतापूर्वक सञ्चालनमा आइसकेका छन् भने अन्य मेसिनहरू मर्मतको चरणमा छन्।

उनले विगतमा ठूलो रकम खर्च भए पनि उद्योग सञ्चालनमा आउन नसकेको भन्दै अहिले भने मितव्ययी ढंगले काम अघि बढाइएको बताइन्। उनका अनुसार विगतमा ९ करोड रुपैयाँ खर्च हुँदा पनि प्रशासनिक काममै सीमित भएको अवस्थामा अहिले ३३ लाख रुपैयाँको लगानीमा २० वटा मेसिन सञ्चालनयोग्य बनाइएको छ।

‘हामीले २० वटा मेसिन चलाइसकेका छौँ। उद्योगमा रहेका कुल ४८८ वटै मेसिनहरू क्रमशः सञ्चालनमा ल्याइनेछ,’ उनले भनिन्, ‘कतिपयले यसलाई स्टन्टबाजी भन्न सक्छन्। तर हामीले काम गरेर देखाएका छौँ र यसको मूल्याङ्कन जनताले गर्नेछन्।’

उद्योग पुनःसञ्चालनमा नेपाली सेनाले व्यवस्थापन तथा प्राविधिक सहयोगमा महत्त्वपूर्ण भूमिका खेलिरहेको राज्यमन्त्री यादवले बताइन्। सेनाको सहयोगमा पुराना मेसिनहरूको मर्मतसम्भार गरी उद्योगलाई पुनर्जीवन दिने सरकारको प्रयास रहेको उनको भनाइ छ।

उद्योगका लागि आवश्यक कच्चा पदार्थ कपास नेपालकै विभिन्न स्थानबाट सङ्कलन गर्ने र स्वदेशी उत्पादनलाई प्राथमिकता दिने योजना पनि सरकारले अघि सारेको उनले जानकारी दिइन्। उद्योगलाई दिगो रूपमा सञ्चालन गर्न आम नागरिकको साथ र सहयोग आवश्यक रहेको उनले जोड दिइन्।

हेटौँडा कपडा उद्योग पुनःसञ्चालनमा आए स्वदेशी उत्पादन बढ्नुका साथै रोजगारी सिर्जनामा समेत योगदान पुग्ने सरकारको अपेक्षा छ।

राज्यमन्त्री यादवले स्वदेशी उद्योगको संरक्षणका लागि जनताको साथ आवश्यक रहेको बताउँदै उद्योग पुनःसञ्चालनको प्रयासमा अवरोध सिर्जना गर्न केही व्यक्ति तथा व्यापारी सक्रिय हुन सक्ने दाबीसमेत गरिन्।

‘हाम्रो राम्रो कामलाई रोक्न कतिपय तत्त्व र व्यापारीहरू सक्रिय हुन सक्छन्। त्यसैले अब स्वदेशी उद्योग जोगाउन जनताको साथ चाहिन्छ,’ उनले भनिन्।

Leave Your Comment

Related News