काठमाडौं । बुधबार बिहान आएको बाढीका कारण रसुवामा १९ जना प्रहरी सम्पर्कविहीन भएका छन्।
बागमती प्रदेश प्रहरी प्रमुख डीआईजी दीपक रेग्मीका अनुसार रसुवागढी प्रहरीचौकीका २२ प्रहरीमध्ये ९ जना मात्रै सम्पर्कमा आएका छन्। अरु १३ जना सम्पर्कविहीन छन्।
उनका अनुसार स्याफ्रुबेसीमा पनि ६ जना प्रहरी हराइरहेका छन्। त्यहाँ ९ जना प्रहरी रहेकोमा ३ जना मात्रै सम्पर्कमा आएको र अरु सम्पर्कविहीन रहेको उनको भनाई छ ।
विपत् प्रभावित क्षेत्रमा तीनवटै सुरक्षा निकाय परिचालन गरिएको छ। बुधबार बिहान ९ बजे अचानक आएको बाढीले टिमुरे, स्याफ्रुबेसीलगायतका क्षेत्रका तटीय क्षेत्रमा ठूलो क्षति पुगेको छ।
बाढीग्रस्त क्षेत्रमा उद्धार, खोज र राहतलाई तीव्रता दिएका हुन् । जिल्लास्थित विपद् प्राधिकरणले सक्रियता बढाइसकेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, जिल्ला प्रशासनलगायतले पीडितको उद्धार तथा खोजलाई तीव्र बनाएका छन् । साथै नेपाली सेनाले पनि आफ्नोतर्फबाट उद्धार तथा खोजलाई अगाडि बढाएको छ ।



