काठमाडौं । बुधवार तिब्बतबाट आएको भोटेकोशी नदीको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ लगायतका तटीय क्षेत्रमा पुगेको ठूलो क्षतिप्रति नेपाल उद्योग वाणिज्य महासंघ गहिरो चिन्ता व्यक्त गर्दछ । उक्त बाढीको सघन असर मुग्लिन हुँदै चितवनसम्म पर्न सक्ने र त्रिशूली नदी जोडिएका सबै तटीय क्षेत्रहरू उच्च जोखिममा रहेकाले तत्काल सतर्कता अपनाउन महासंघ आग्रह गर्दछ ।
सरकारी निकायबाट पृथ्वी राजमार्गसहित त्यस करिडोरका सडकहरूमा आवागमन रोक्न आग्रह गरिएको अवस्थामा महासंघ तटीय तथा प्रभावित क्षेत्रका सम्पूर्ण उद्योगी–व्यवसायी, सर्वसाधारण तथा यात्रुहरूलाई उच्च सतर्कता अपनाउन हार्दिक अनुरोध गर्दछौं ।
विपद्को यस कठिन घडीमा नेपाल उद्योग वाणिज्य महासंघ मातहतका सम्पूर्ण जिल्ला÷नगर उद्योग वाणिज्य संघहरू, वस्तुगत संघहरू तथा सम्पूर्ण उद्योगी–व्यवसायी महानुभावहरूलाई स्थानीय प्रशासन, सुरक्षा निकायहरुसंग आवश्यक समन्वय गरी तत्काल ज्ञ उद्धार, राहत र सुरक्षा व्यवस्थापनमा सक्रिय रूपमा संलग्न हुन हार्दिक अपिल गर्दछ ।
यस विपद्बाट भएको क्षतिको आधिकारिक विवरणहरु आउन बाँकी रहेतापनि प्रारम्भिक रिर्पोटहरुमा धेरै ठूलो क्षतिको अनुमान गर्न सकिन्छ । महासंघ विपदको यस अकल्पनीय घडिमा दुःख व्यक्त गर्दै यस विपद्मा क्षति ब्यहोर्न पुगेका सर्वसाधारण, तीर्थयात्री, जनसमुदाय, उद्योगी व्यवसायीहरु सबैको साथ रहँदै विपदको व्यवस्थापनमा सबैले यथाशिघ्र कार्य गर्न अनुरोध गर्दछ ।
साथै महासंघ आफ्नो तर्फबाट सहयोग गर्न प्रतिबद्ध रहेको समेत जानकारी गराउँदछ । विनाशकारी विपद्बाट सर्वसाधारणका घर, उद्योगी व्यवसायीहरुको पसल, सवारी साधन, पूल, जलविद्युतगुहरुका अतिरिक्त धेरै ठूलो क्षति पुगेकोमा चिन्ता व्यक्त गर्दै भविष्यमा गर्नु पर्ने पुनःस्थापनाको कार्यमा पनि महासंघ सदैव साथमा रहेको छ ।



